तत्काल अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह

तत्काल अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौ । सरकारले राष्ट्रियसभाको चुनाव सम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री मोहन बस्नेतले राष्ट्रपतिले अध्यादेश रोक्न नमिल्ने भन्दै जारी गर्न आग्रह गरेको हो।

राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत दलीय अनुकुलतामा प्रयोग गरिएको आभास हुन थालेको बताए । मन्त्री बस्नेतले सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजि भईरहेको भन्दै राष्ट्रियसभा गठनमा भईरहेको ढिलाईप्रति सबैले सोच्नु पर्ने बेला आएको बताए।

पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले राष्ट्रियसभाको चुनाव सम्पन्न नहुँदासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिने समेत प्रष्ट पारे। बस्नेतले प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्ने भनिसकेका बेला दुरासय र आशंकित अभिव्यक्ति आउनु दुखद विषय भएको बताए ।

अहिलेको निर्वाचन प्रणाली मिश्रित भएको भन्दै प्रत्यक्षतर्फको मात्रै धारणा बनाएर जानु एकाङकी हुने टिप्पणी गरे । विगतमा तेस्रो दलको नेतृत्वमा समेत सरकार गठन भएको स्मरण गराउँदै बस्नेतले प्रत्यक्षतर्फको नतिजालाई हेरेर मात्र कसको नेतृत्वमा सरकार बन्दैछ भन्ने अनुमान लाउनु सान्दर्भीक नहुने तर्क गरेको हो ।

प्रत्यक्षतर्फको नतिजाले बामगठबन्धनमा अहंकार बढाएको मन्त्री बस्नेतले आरोप लगाए ।

Share