विभिन्न कार्यक्रम गरी विश्व आप्रवासन दिवस मनाउँदै

विभिन्न कार्यक्रम गरी विश्व आप्रवासन दिवस मनाउँदै

काठमाडौ । आज अन्तराष्ट्रिय आप्रवासन दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अहिले काठमाडौंमा कार्यक्रम भइरहेको छ । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विहान प्रभातफेरी गरिएको छ।

प्रभातफेरी पछि काठमाडौंको भृकुटीमण्डपमा सरकारी तथा गैरसरकारी संघसंस्थाको आयोजनामा सुरक्षित आप्रवासनको बारेमा कार्यक्रम भइरहेको हो। कार्यक्रममा श्रम मन्त्री फरमुल्लाह मन्सुरको पनि सहभागिता रहेको छ ।

दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई केहीबेरमा स्वागत गर्ने कार्यक्रम छ । यो दिवस सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धि राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन् २००० देखि दिवस मनाउन थालिएको हो ।

दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले भोग्नु परेका समस्या समाधानतर्फ भने ठोस पहल हुन सकेको छैन।  वैदेशिक रोजगारीका लागि कामदारसँग अत्यधिक रकम असुल्ने, भने अनुसार काम र पारिश्रमिक नपाउने, कठिनपूर्ण काममा लगाइने, करार अवधि सकिएपछि पनि घर फर्कन नदिने, अभिमुखीकरण तालिम नदिई प्रमाणपत्र मात्रै दिने, स्वास्थ्य परीक्षणमा लापरबाही गर्नेजस्ता समस्या छन्।

नेपालबाट बर्षेनी चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा जाने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन ।

हाल विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रुपमा रहेको र ती मध्ये एक चौथाइ मानिस एशिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको तथ्यांक छ ।

Share