बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित

बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित

काठमाडौ । तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनयता बढेको चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढि प्रभावित भएका छन् ।

चिसोका कारण बजार क्षेत्रमा चहलपहल घटेको छ । धनुषामा तीन दिनदेखि घाम देख्न नपाँउदा जनजीवन कष्टकर बन्दै गएको जनाएका छन्।

यस्तै बारा, पर्सा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही लगायत जिल्लाका जनजीवन चिसोले प्रभावित भएको छ । पाँच नम्बर र ७ नम्बर प्रदेशका तराईका जिल्लामा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

यो वर्षको शितलहर शुरु हुन लागेसंगै स्वास्थ्य समस्या देखिन थालेको छ । अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका समस्या लिएर अस्पताल आउनेको संख्या बढेको हो।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उपचारका लागि अहिले दैनिक करिब २० देखि २५ जना अस्पतालमा आउने गरेको जनस्वास्थ्य कार्यलयले जनाएको हो।

प्रदेश नम्बर ७ को कैलाली र कन्चनपुरमा तीनदेखि बिहान बढी हुस्सु लाग्दा मानिसको चलपहल कम हुदै गएको र सवारी साधन समेत कम गुड्ने गरेको जनाएका छन्।

यसैबीच अत्यधिक चिसो बढेपछि बाँकेका बाढी पीडित समस्यामा परेका छन् । अस्थायी टहराले शित छेक्न नसकेपछि सामुदायिक बनमा अस्थायी टहरा बनाएर बसेका बाढी पीडितका बालबालिका र बृद्धबृद्धामा निमोनिया, रुघाखोकी, ज्वरो, टाइफाइड जस्ता समस्या देखिएका छन्।

बाढीले घरबार उठाएपछि सामुदायिक बनमा बनाएको अस्थायी टहरामा बसेका अधिकांश बाढीपीडितका बालबालिका, बृद्धबृद्धा विरामी भएको राप्ती–सोनारी गाउँपालिका–१, टिकुलीपुरकी मञ्जु विकले बताए ।

बाढीपीडित बसेको ठाउँका अधिकांश बालबालिका र बृद्धबृद्धा चिसोका कारण विरामी भएका हुन् । चिसोले बृद्धबृद्धाको शरिर सुनिने, स्वास प्रश्वासमा समस्या हुने र खोकी लाग्ने समस्या देखिएको छ ।

चिसोले त्रिपालको घरमा रात विताउन कठिन भएको सोही ठाउँकी कमला विकले बताइन् । टिकुलीपुरका १०३ परिवार बाढीपीडित सामुदायिक बनमा बस्दै आएका छन्। बालबालिका र बृद्धबृद्धा धमाधम विरामी पर्न थालेपछि त्यस ठाउँका सर्वसाधारणले निशुल्क उपचारको माग गरेका छन्।

विरामी परेका जानकारी पाएपछि नाम लेख्न र सोधीखोजी गर्न २/३ टोली शिविरमा पुगे पनि अहिलेसम्म कसैले उपचारमा सहयोग नगरेको टिकुलीपुरकी मञ्जु विकले गुनासो गरेकाी थिएन् ।

Share