विद्यालयका सवारी साधनलाई नयाँ ट्राफिक नियम लागू

विद्यालयका सवारी साधनलाई नयाँ ट्राफिक नियम लागू

काठमाडौ । विद्यालयका सवारी साधनलाई आजदेखि नयाँ ट्राफिक नियम लागू हुने भएको छ । काठमाडौं उपत्यकाभित्र सञ्चालित स्कूल, कलेज तथा अन्य शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता दिने अभियान स्वरुप उच्च माध्यमिक विद्यालय संघ (हिसान), संस्थागत विद्यालयहरुको संस्था प्याब्सन र एन प्याब्सनसँग सम्झौता गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नयाँ नियम अनुसार सबै विद्यालयहरुले आफ्ना सवारी साधनको रंग पहेलो र चालकले अनिवार्य तोकिएको पोशाक लगाउनु पर्ने छ । यस्तै विद्यालयको सवारी चलाउने चालक कुनै फौजदारी अभियोग नलागेको, कुनै दुर्घटना गराई कानूनी सजायँ नभोगेको हुनु पर्ने छ भने विद्यालयको सवारी चलाउने समयमा चालकले धुम्रपान मध्यपान गर्न नपाउने महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको स्टेशनमा मात्रै स्कूल बसहरु रोक्न पाउने व्यवस्था मिलाईएको छ । यसैबिच दुर्घटना न्यूनिकरणका लागि हिसानले कक्षा १२ का विद्यार्थीलाई कलेज आउँदा जाँदा मोटरसाइकल प्रयोगमा रोक लगाउने कार्यलाई पनि ट्राफिक प्रहरीले आजदेखि कडाईकासाथ लागू गर्ने भएको छ।

विद्यार्थीलाई सवारी नियम र ट्राफिक ज्ञान दिलाउन हिसान, प्याव्सन र एनप्याव्सनको सहकार्यमा अभियान नै संचालन गरीने महाशाखाले जनाएको छ।

Share