निर्वाचन महिलामैत्री हुन नसक्नुको मूल कारण यस्तो छ :

निर्वाचन महिलामैत्री हुन नसक्नुको मूल कारण यस्तो छ :

नेपालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मत परिणाम अनुसार प्रतिनिधिसभामा ६ जना महिला उम्मेदवारले विजय हासिल गरेका छन् । नेपालको संविधानमा नै महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था छ ।

अझ दलहरूले नै आफनो हरेक संगठनमा महिलालाई ३३ प्रतिशतको व्यवस्था गर्ने प्रतिबद्धता नै गरेतापनि यसपालिको निर्वाचनमा भने त्यो प्रतिबद्धता पालना भएन । निर्वाचनमा केही संख्यामा महिला उम्मेदवारलाई राजनीतिक दलहरूले उठाए पनि उनीहरूको संख्या ३३ प्रतिशत नभएको ठहर भएको छ । यसले गर्दा निर्वाचनमा विजय हासिल गर्ने महिलाहरूको संख्या पनि उल्लेख्य रहेन ।

प्रत्यक्षतर्फको १ सय ६५ सदस्यीय हुने संघीय संसदमा महिलाको संख्या भने मात्र ६ जना भएको छ । यद्यपि, समानुपातिकतर्फबाट छानिने महिलाहरूको संख्या केही हुन सक्छ, तर त्यो पर्याप्त भने हुने छैन ।

दोस्रो संविधानसभाको चुनावमा महिला उम्मेदवारहरूको संख्या धेरै भएका कारण नेपालको संविधानसभा महिलामैत्री देखिएको थियो । दलहरूले पनि महिलामैत्री भएर चुनावमा उठाउने, समानुपातिकतर्फ महिलालाई अवसर दिएका थिए । त्यसैकारणले नेपालको संविधानसभामा महिलाको उपस्थिति प्रतिशत दक्षिण एशिया लगायत विश्वका धेरै देशभन्दा अगाडि थियो ।

यसले नेपालको राजनीतिमा महिलामैत्री बन्दै गएको आभाष मिलेको थियो । विश्वका अन्य देशहरूले पनि नेपालको यो पक्षलाई खुलेर प्रशंसा गरेका थिए। विकसित भनिएका देशहरूमा पनि महिलाले राजनीतिमा उचित स्पेश नपाईरहेको अवस्थामा नेपालको तत्कालीन महिलामैत्री संसद् विश्वका लागि नै उदाहरणीय बनेको थियो ।

अर्को सुखदपक्ष के थियो भने त्यो बेला नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्ता राज्यका उच्चतम पदहरूमा महिला नै आसीन थिए । त्यसले पनि नेपालमा महिलाको पक्षमा केही जनचेतना जागेको महसुस गरिएको थियो ।

वर्तमान समय भने पूरै १ सय ८० डिग्रीमा घुमेको आभाष भएको छ । अहिले देशमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी छन् । तर, त्यसपछि नेपालको राजनीतिमा हस्तक्षेप गर्नसक्ने महिलाको संख्या अत्यन्त न्यून देखिएको छ । विगतमा महिलालाई ठूलो अवसर दिएका नेपाली राजनीतिक दलहरू अहिले उनीहरूप्रति अनुदार देखिएका छन् । राजनीतिक दलहरूले निर्वाचनमा महिलालाई अवसर कम दिँदा निर्वाचित हुने महिलाको समस्यामा कमी आएको हो।

जब राजनीतिक दलहरूले नै महिलाहरूलाई विभेद गर्न थाल्छ, तब अन्य क्षेत्रबाट महिलाले न्याय पाउँछन् भनेर सम्झिनु मूर्खता सिवाय अरु हुँदैन । राजनीति दलहरू नै हुन् सरकारमा जाने, नीतिनियम बनाउने । यदि उनीहरू अहिले नै महिलाप्रति यतिसम्म अनुदार छन् भने भोलि महिलाका सवालमा गम्भीर भएर लाग्लान् भनेर कसरी अपेक्षा गर्न सकिन्छ ।

यो निर्वाचनमा पनि महिलाहरूले आफूहरूले खर्च गर्न नसक्ने, पुरुष समान खट्न नसक्ने, चुनाव जित्न मनी र मसल चाहिने जस्ता आरोप लगाएर टिकट नदिएको बताएका छन्। जब कि केही महिला उम्मेदवार भने यी सबै आरोपलाई चिर्दै असत्य साबित गराएर पुरुष विरुद्ध नै जीत हासिल गर्न सफल भएका छन् ।

Share