सबैभन्दा धेरै शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी अख्तियारमा

सबैभन्दा धेरै शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी अख्तियारमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा सबैभन्दा धेरै शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी परेका छन् । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको आर्थिक बर्ष २०७३/७४ को बार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रसँग सम्बन्धित २० दशमलव ३० प्रतिशत उजुरी परेको उल्लेख छ।

यस्तैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बन्धित १५ दशमलव ५४ प्रतिशत, भुमिसुधार तथा व्यवस्था मन्त्रालयसँग सम्बन्धित ६ दशमलव ८५, स्वास्थ्य सेवासँग सम्बन्धित ४ दशमलव ६०, गृहमन्त्रालयसँग सम्बन्धित ४ दशमलव ५७ तथा वन तथा भू-संरक्षण मन्त्रालयसँग सम्बन्धित ३ दशमलव ८७ प्रतिशत उजुरी परेका आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगमा परेका १९ हजार ५ सय ८० वटा उजुरी मध्ये ७ हजार ६५ वटा उजुरी प्रारम्भिक छानवीनबाट तामेलीमा राखिएको, ३ सय ६ वटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको र ४ हजार ४ सय ९० वटा उजुरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाईएको जनाएको छ।

अख्तियारले गत आर्थिक बर्षमा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ भने ती मुद्दामा २ सय ६७ जना उपर ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५ सय रुपैंया बिगो मागदाबी गरीएको छ ।

यस्तैगरी सार्वजनिक पद धारण गरेको ब्यक्तिबाट हानी नोक्सानी सच्चाउने कार्य भई ८ करोड, ५५ लाख ८४ हजार असुल गरिएको र २ करोड १ लाख ९४ हजार असुल गर्न सम्बन्धित निकायलाई पत्र लेखेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

Share