प्रतिनिधि र प्रदेशसभाको सबै नतिजा सार्वजनिक

प्रतिनिधि र प्रदेशसभाको सबै नतिजा सार्वजनिक

काठमाडौ । प्रतिनिधिसभा तर्फको प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भएको छ । सुनसरी ३ को मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा तर्फको मतगणना सकिएको हो ।

प्रत्यक्षमा नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली काँग्रेसले २३, राजपा नेपालले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन्।

नयाँ शक्ति, नेपाल मजदूर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदले एक–एक सिट जितेका छन् ।
प्रदेशसभातर्फ पनि सबै ३ सय ३० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये १ सय ६८ सिट जित्दै नेकपा एमाले पहिलो भएको छ भने दोस्रो स्थानको नेकपा माओवादी केन्द्रले ७३ स्थान जितेको छ ।

नेपाली काँग्रेसले ४१, संघीय समाजवादी फोरमले २४ र राजपाले १६ स्थान जितेका छन् । नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा २÷२ तथा नेपाल मजदुर किसान पार्टीले १ स्थानमा जित हात पार्दा ३ जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

प्रदेशको प्रत्यक्षतर्फ २ नम्बर बाहेक बाँकी ६ वटै प्रदेशमा वाम गठबन्धनले दुई तिहाइ सिट जितेका छन् । तर समानुपातिकतर्फको मतले केही प्रदेशमा दुई तिहाई नपुगे पनि स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ ।

प्रत्यक्षतर्फ १ नम्बर प्रदेशमा ५६ सिट मध्ये एमालेले ३६ र माओवादी केन्द्रले १० गरी ४६ सिट जितेको छ । ३ नम्बर प्रदेशका ६६ मध्ये एमालेले ४२ र माओवादी केन्द्रले १५ सिट गरी ५७ सिट जितेका छन् । ४ नम्बर प्रदेशका ३६ मध्ये एमालेले १७ र नेकपा माओवादी केन्द्रले ९ गरी २६, ५ नम्बर प्रदेशमा ५२ मध्ये एमालेले २८ र माओवादीले १४ गरी ४२, ६ नम्बर प्रदेशका २४ मध्ये एमालेले १४ र माओवादी केन्द्रले ९ गरी २३ सिट जितेका छन्। ७ नम्बर प्रदेशमा ३२ मध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सिट हात पारेका छन् ।

दुई नम्बर प्रदेशमा भने मधेश केन्द्रित दलको सरकार बन्ने भएको छ । ६४ सिट रहेको २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले २० र राष्ट्रिय जनता पार्टीले १५ सिट जितेको छ। जहाँ एमालेले १४ र माओवादी केन्द्रले ६ सिट मात्रै जितेका छन् ।

काँग्रेसले भने एक र दुई नम्बर प्रदेशमा ८/८, ३ र ५ नम्बरमा ७/७, ४ नम्बरमा ६, ७ नम्बरमा ४ र ६ नम्बर प्रदेशमा एक सिट मात्रै जितेको छ।

Share