हिमपातले मध्ये तथा सुदूरपश्चिमका जनजीवन कष्टकर

हिमपातले मध्ये तथा सुदूरपश्चिमका जनजीवन कष्टकर

काठमाडौ । मध्ये र सुदुरपश्चिममा हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पा तथा दार्चुला, बझाङ, रुकुम, जाजरकोट लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कर्णालीका अधिकांस जिल्लाको न्यूनतम तापक्रम माइनसमा पुगेकाले नागरिकको दैनिक क्रियाकलापमा समेत असर परेको छ । हिमपातले ज्येष्ठ नागरिक, अशक्त–अपांगहरु बढी प्रभावित भएका छन् । कर्णालीमा कक्षा ८ को जिल्लास्तरीय परिक्षा समेत प्रभावित भएको छ ।

केही ठाउँमा खानेपानीको अभाव भएको छ भने खाद्यान्न ओसार पसार समेत प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले दिपायल, डडेलधुरा, सुर्खेत, जाजरकोट लगायतका विभिन्न ठाउँमा हिजो पानी परेको थियो ।

यसैबीच हिमपातका कारण कृषि क्षेत्रमा भने राम्रो फाइदा पुगेको वरिष्ठ कृषि वैज्ञानिक रामबहादुर केसीले बताए । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने स्याऊ, नासपाती, ओखर लगायतका फलफुललाई अमृत वर्षा नै भएको केसीले जानकारी दिए ।

Share