इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडादरमा व्यापक बृद्धि

इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडादरमा व्यापक बृद्धि

काठमाडौ । आजैदेखि लागू हुने गरी वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बृद्धि गरेको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले आजदेखि लागू हुनेगरी भाडा बढाएको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमान सेवा कम्पनीले पनि हवाई भाडा बढाउनु परेको संघले जनाएको छ ।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ वा सोभन्दा बढी घटबढ भएमा त्यही अनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्था रहेको छ।

यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो । संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु २ सय २० रुपैयाँ बढेको छ।

त्यस्तै सिमराका लागि सबै भन्दा कम प्रतियात्रु ४५ रुपैयाले भाडा बढेको छ । बढेको भाडा अनुसार यात्रुले माउण्टेनमा ११ हजार २०, पोखरा ४ हजार ७ सय ३० भैरहवा ६ हजार ५५, भरतपुर ३ हजार ५ सय ५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यस्तै विराटनगर ७ हजार २ सय २०, नेपालगञ्ज ९ हजार ५ सय ६५, भद्रपुर ८ हजार ७ सय ५०, धनगढी १२ हजार ३ सय २०, जनकपुर ४ हजार १०, सिमरा ३ हजार ४५ र तुम्लिङटार ५ हजार ७ सय २० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।

Share