मुलुकभर ६७ प्रतिशत मत खसेको आयोगको ठहर

मुलुकभर ६७ प्रतिशत मत खसेको आयोगको ठहर

काठमाडौ । आज मुलुभर सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । आज निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए। यादवका अनुसार छिटफुट घटना बाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको वताएको हो ।

यसैक्रममा यादवले भने, “नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा दोस्रो चरणमा आज ४५ जिल्लामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको उत्साहजनक, व्यापक सहभागिता र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी सहर्ष रूपमा गराउन चाहन्छु ।”

निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्दै आयोगले बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गतायुक्त लगायत मतदाताले उत्साहजनक रुपमा मतदान गरेकामा सबै मतदातालाई धन्यवाद दिएका छन्।

मतदान सम्पन्न भएलगत्तै आज सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम समेत शुरू भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने डा यादवले जानकारी दिए ।

मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको समेत आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भएको हो । दुवै मतदानमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै यही मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आजैदेखि सुरु भएको छ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।

दोस्रो चरणको मतदानपछि सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी आजै (बिहीबार) राति वा शुक्रबार बिहानसम्ममा मतगणना शुरु हुने जनाएको छ ।

सात प्रदेश र ७७ जिल्लामा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएकामा सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सबै राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सबैलाई आयोगले धन्यवाद दिएको छ ।

निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको आयोगको निष्कर्ष छ । डा यादवले भने “निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोग आभार प्रकट गर्दछ ।”