भोलि हुने चुनावको सबै तयारी पूरा

भोलि हुने चुनावको सबै तयारी पूरा

काठमाडौ । निर्वाचन आयोगले भोलि हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आज बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ।

भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने गरि व्यवस्था गरिएको छ । आयोगले चुनावको तयारी बारे आज पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ।

दिउँसो साढे २ बजे चुनावको सबै तयारी बारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यस्तै गृह मन्त्रालयले पनि दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ ।

यसैबीच, प्रदेश र प्रतिनिधिसभा दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण आजपनि जारी राखेको छ । ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट आजपनि मतदाता परिचयपत्र वितरण जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

परिचय पत्र वितरणसँगै मतदाता शिक्षा र सचेतना अभियान जारी रहेको आयोगका प्रवक्ता ढकालले जानकारी दिए । स्थानीय चुनावपछि थपिएका र एक केन्द्रबाट अर्को केन्द्रमा नाम स्थानान्तरण गरेकाहरुलाई आयोगले भोलि हुने चुनावका लागि हिजोबाटै परिचयपत्र बितरण थालेको हो।

स्थानीय तहको चुनावका बेला परिचयपत्र लिइसकेकाले सोही परिचयपत्र देखाएर मतदान गर्न सक्ने भएकोले आयोगले थपिएका नयाँ मतदातालाई मात्र परिचयपत्र बितरण गरेको छ ।

आयोगले मतदाता उपस्थित हुन नसके एकै घरका परिवारका सदस्यलाई नागरिकताका आधारमा परिचयपत्र उपलब्ध गराइरहेको छ।