योमरी पुन्हि, उधौली र धान्य पूर्णिमा मनाउँदै

योमरी पुन्हि, उधौली र धान्य पूर्णिमा मनाउँदै

काठमाडौ । आज मंसिर पूर्णिमा, योमह्री पुन्हि, उधौली र धान्यपूर्णिमा पर्व मनाइदैछ । नेवार समुदायले योमरी पुन्हि, किराँत समुदायले उधौली र हिन्दुधर्मावलम्बीले धान्य पूर्णिमा मनाउँदै छन् ।

नेवार समुदायले चामलको पिठो, चाकु र खुवाबाट बनेको विशेष परिकार योमरी बनाएर खाने गर्छन् । आजको दिन साँझ केटाकेटीहरु घर घरमा गई गीत गाएर यःमरी माग्ने प्रचलन छ ।

यःमरीलाई नेवार समुदायले कुवेर र गणेशका प्रतिकको रुपमा पनि लिने गर्दछन् । यःमरीलाई धानका भकारी चढाएपछि प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ।

आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्य पूर्णिमा मनाउँदैछन्।

आज किरात समुदायले उधौली मनाउँदैछन्। खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बढोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, याख्खाहरुले चासुवा र सुनुवारहरुले फोलस्याँदर भन्दछन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।