सुरक्षा अवस्था मजबुत रहेको आयोगको ठहर

सुरक्षा अवस्था मजबुत रहेको आयोगको ठहर

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा अवस्था मजबुत रहेको भन्दै ढुक्क हुन मतदातालाई आग्रह गरेको छ ।

मतदाता र उम्मेदवारलाई तर्साउन केही घटना घटाउने प्रयास गरेपनि त्यसबाट आत्तिनु पर्ने अवस्था नरहेको आयोगको भनाई छ ।  सुरक्षा अवस्थाका बारेमा निर्वाचन आयोगले हिजो सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको थियो ।

सुरक्षा निकायले अघि सारेको सुरक्षा योजनासँग आयोग सन्तुष्ट रहेको भन्दै आयोगका प्रवक्ता नवराज ढकालले आत्तिनु नपर्ने बताएको हो। सुरक्षा निकायले दोस्रो चरणमा निर्वाचन हुने मध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

भारतसँग सीमा जोडिएका जिल्लामा सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त गस्ती बढाएका छन् भने निर्वाचन हुने ४५ जिल्लामा करिब दुई लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन् ।