“भ्रष्टाचारी, जाली, फटाहाको सञ्जालमा रहन सकिन, त्यसैले आजकै मितिदेखि पार्टी छोडेँ” : रामकुमार राई

“भ्रष्टाचारी, जाली, फटाहाको सञ्जालमा रहन सकिन, त्यसैले आजकै मितिदेखि पार्टी छोडेँ” : रामकुमार राई

सन्तोष कार्की/कटारी । नेपाली काँग्रेसका जिल्ला सचिब रामकुमार राईले आज एक औपचारिक समारोहमा काँग्रेस पार्टी परित्याग गरेका छन्।निर्वाचनलाई लक्षित गरी वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै काँग्रेस पार्टी छोडी वामगठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

झण्डै तीन दशक लामो समय काँग्रेसमा व्यतित गरेका राईले सभालाई सम्बोधन गर्दै भने, ‘उर्वर समय मैले काँग्रेसमा व्यतित गरेर वेकार गरेछु ।’ पार्टीका केहि नीति सिद्धान्त राम्रा भएपनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव स्वभाव भएकाले आफू पार्टीभित्र बस्न नसकेको व्यक्त गरे।

‘बिनासकाले विपरित बुद्धी’ भन्ने नेपाली पुरानो उखानलाई कोट्याउँदै जिल्लाका ५ नेताप्रति इङ्गित गर्दै राईले भने, ‘जिल्ला सभापति बिदुर बस्नेत, क्षेत्रनं २ का उमेदवार नारायण बहादुर कार्की, रेडक्रसका सभापति तथा काँग्रेसका नेता सन्जिव थापा, पूर्व पार्टी सभापति हेरम्ब बहादुर थापा र कटारी नगरपालिकाको मेयर पदमा पराजित उमेदवार ज्ञानेन्द्रमानसिंह राउतको सिन्डिकेटका कारण काँग्रेस पार्टी जिल्लामा सखाप भयो ।’

राईको थपे, ‘स्थानीय र संसदीय निर्वाचनमा जित्नेभन्दा पनि पराजित हुने उमेदवारलाई पैसाको चलखेल गरेर पार्टी आफ्नो पेवा र विर्ता सम्झेर टिकट वितरण गरेको र त्यसप्रति असहमति जनाउँदा आफूलाई पार्टी छोड्न बाध्य बनाए ।’

उनले थपे, ‘काँग्रेस अव पनि नसच्चिने हो भने, उदयपुरमा काँग्रेस एकादेशमा काँग्रेस पार्टी पनि थियो भन्नेमा मात्र इतिहासमा नाम रहनेछ ।’ ५ नेतासँगै केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित मुद्रामा देखिएका राईले भने, ‘अब नेपाली काँग्रेस विपीको सिद्धान्तमा अडिग रहेर लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पार्टी रहेन्, यो त केवल दलाल र शासकहरुको मात्र पार्टी रह्यो ।’

त्यसअघि उनले थपे, ‘विपी, किसुन जी जस्ता निष्ठाको राजनीति गर्ने र हामी जस्ता जनताको काम इमान्दारसाथ गर्ने पार्टी रहेन् यो केवल भ्रष्ट, दलाल, शोषक, सामन्त र विपीको नाम भजाएर खाईरहने पार्टी बन्यो ।’

राईले कटारी नगरपालिकाको मेयर पदमा आफूलाई टिकट नदिएपछि पार्टी सभापति देउवाले काठमाडौँमा बोलाएर प्रतिनिधिसभा २ अन्र्तगत रहेको प्रदेशसभा २ मा टिकट दिने आश्वासन दिएको तर त्यो वाचा पूरा नगरी आफूभन्दा निकै जुनियर कार्यकर्ताको भावना विपरित पार्टीको नाम भजाएर खाने राम खत्रीलाई दिएको आरोप लगाए ।

त्यसअघि उनले थपे, ‘भ्रष्टाचारी, जाली, फटाहाको सञ्जालमा अब रहन सकिन, त्यसैले आजकै मितिदेखि पार्टी छोडे, अवको मेरो लडाई त्यस्ता व्यक्तिलाई तह लगाउनु हो, त्यो विकल्प वामगठबन्धनलाई जिताउनु वाहेक छैन्, गठबन्धन प्रति मेरो प्रतिबद्धता छ, तपाईहरु पनि सहयोग गर्नुस।’

राईको त्यो शब्द मञ्चबाट झर्न नपाउँदै तालीको गड्गडावटकासाथ ठूलो स्वर गुन्जियो ‘राम दाई हाई–हाई, वामगठबन्धन जिन्दावाद ।’ लगत्तै राईको त्यो कार्यको सम्मान गर्दै एमाले पोलिटव्युरो सदस्य जगन्नाथ खविडाले प्रतिनिधिसभा २ मा अब काँग्रेस मुसाको दुलो भित्र सिमित रहेको घोषणा गरे।

‘काँग्रेसलाई अव टुकी वालेर खोज्नु पर्छ ।’ खतिवडाले भने, ‘काँग्रेसलाई विरालोले मुसो खेलाए झै खेलाउन एमाले आफै काफी छ, तर त्यतिले मात्र नभई देश समृद्धी बनाउन वामगठबन्धन आबश्क छ ।’ खतिवडाले थपे, ‘वाम एकता उदयपुरको सवाल मात्र हैन्, राष्ट्र र सगरमाथाको झुकेको शिर उचो राख्न हो ।’ ‘विदेशी दलाल र भ्रष्टहरुका कारण मुलुक वर्वाद भो,’ उनले भने, ‘अव पनि कम्युनिष्टहरुले शासन नगर्ने हो भने, देशको अस्थित्व नै रहन्न ।’

कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकार संगितकार शम्भु राई, सत्यकला राई, कला राई, लिला राई, शिला राई, मिना राई, रुपकुमार राई, दिपक वान्तवा, नरेश राई, दिपेश राई, लोकगायक बद्री पंगेनी, हास्यकलाकार पार्वन राई, चर्चित नायक तथा निर्माता समानुपातिक उमेदवार नवल खड्का, नायिका तथा मोडल दिपासा विसी, नृत्यकार रेखा मगर, उदघोषक साहस राईको वेजोड प्रस्तुति रहेको थियो ।

कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दै भने, ‘समृद्ध देश र सुखी नेपाल निर्माणका लागि यो पटक वामगठबन्धनलाई जिताएर ५ बर्ष हेर्नुस ।’ प्रस्तुत कलामा शब्द शब्दमा कलाकारहरुले वामगठबन्धनलाई विजयी गराउन पटक पटक आग्रह गरेका थिए ।

त्यस्तैगरी चर्चित संगितकार शम्भु राईले ‘चिठ्ठी तिमीलाई लेखौ भन्छु’ सत्यकला राईले ‘तिमिलाई हङ्कङ् पुर्यायो आइडी काडैले’ लगायतका आफ्ना गित गाउँदै गठबन्धनलाई भोट मागे भने चलचित्र निर्देशक तथा समानुपातिक उमेदवार नवल खड्काले भने भाषण नै गरेर गठबन्धनलाई भोट दिएर एक पटक सरकार चलाउने अवसर दिन आग्रह गरे ।