बैँक नहँदा ३ दिन हिडेर सदरमुकाम धाउन बाध्य

बैँक नहँदा ३ दिन हिडेर सदरमुकाम धाउन बाध्य

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुको ६ वटा स्थानीय तहमा कुनै पनि वैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु दिनहँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् ।

योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलन लगाएत आर्थिक कारोबार गाउँपालिकाबाटै हुने अवस्थामा बैकको शाखा नहुँदा समस्या आएको हो। गाउँपालिकाले विभिन्न शिर्षकबाट लिने राजस्व जम्मा गर्न, तलब भत्ता भुक्तानी गर्न समेत यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारी तीनसम्मको पैदल हिड्न बाध्य छन्।

नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफ कुमार बास्तोलाले योजना सम्झौता गरेपछि खाता खोल्न, भूकम्पको राहत लिन लगाएत सबै कामका लागि सेवाग्राही सदरमुकाम मै धाउनु पर्ने वाध्यता रहँदै आएको बताए ।

बास्तोलाले भने, “स्थानीय तहको कार्यसम्पादन गर्न, कर्मचारीको तलब भत्ता सबै कामका लागि निक्कै सास्ती भएको छ, राष्ट्रिय बाणिज्य वैंकले चाँडै शाखा विस्तारको प्रक्रिया अगाडी बढाउनेमा हामी आशावादी छौ ।”

हिमाली जिल्ला भएकाले भौगोलिक बिकटता छदैछ । सिंहदरबारको अधिकार गाउँगाउँमा आउने बताएपनि आर्थिक कारोबार गर्न सदरमुकाम नै पुग्नु पर्ने यहाँको बाध्यता बनेको छ ।

जिल्ला सदरमुकामदेखि लिखुपिके र महाँकुलुङ गाउँपालिकाको कार्यालय १७ कोष टाढा पर्छ । यहाँ सदरमुकामको कुनैपनि सडक सञ्जालले छोएको छैन । यस गाउँपालिकाका सम्पूर्ण नागरिक पैदल यात्रा पश्चात २ दिनमा सदरमुकाम आईपुग्छन् । लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले भने, “गाउँपालिकाको सेवामा यहाँका नागरिकले कुनैपनि सहज अनुभूती गर्न सकेका छैनन् ।”

गाउँपालिकामा कुनैपनि आर्थिक कारोबार गर्ने अधिकार प्राप्त बित्तिय शाखा नहुँदा सदरमुकाममा केन्द्रित बैकमा आर्थिक कारोबार गर्नु यहाँको बाध्यता रहेको छ।

असार १४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो गाउँसभा समेत सम्पन्न भईसकेको छ । गाउँसभाले विभिन्न बिकासे योजना सञ्चालन गर्ने निर्णय गरेसंगै योजना सम्झौताका लागि सदरमुकाम धाउनेक्रम टुटेको छैन ।

कुनैपनि कर्मचारीलाई तत्काल रकम आवश्यक परेमा गाउँमा ऋण बाहेक अन्य बिकल्प छैन । दुधकौसीका गाउँपालिका वडा नम्बर ७ र ८ का वडा सचिव रबीन्द्र कुमार भट्टराईले भने, “आफ्नो खातामा रकम भएपनि तत्काल गोजीमा रकम सकियो अन्य व्यक्तिलाई ऋण मागेर काम चलाईरहेका छौ ।” भट्टराईले भने, “सामाजिक सुरक्षा भत्ता वितरणको लागि अझैपनि सदरमुकामबाट रकम लैजानुपर्दा सुरक्षामा चुनौती छ।”

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले भने, कागजमा प्रक्रिया पूरा गर्ने र सदरमुकाम धाउने कामले हैरान बनाईसक्यो ।”  किराँतीले भने, “भौगोलिक विकट्ता दर्शाउदै सरकार समक्ष बैक शाखा, लेण्डलाईन टेलिकम बिस्तारको लागि निवेदन दिएपनि सुनुवाई भएन ।”

चुनाव जित्ने बेलामा हरेक सेवा सुविधा गाउँमै आउने आश्वासन बाँडेका उम्मेद्वारलाई अहिले त्यहि सम्बन्धि प्रश्न आउने गरेको छ । दुधकौसीका गाउँपालिका अध्यक्ष असिम राई भन्छन्, “व्यवस्थापनमा समय लाग्दा, जनताको वचन सुन्नु बाहेक बिकल्प छैन, हाम्रो समस्या प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पश्चात तत्काल सम्बोधन हुन्छ ।”

अहिले सदरमुकाम रहेको सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजी सेन्चुरी कमर्सियल बैक अनि, एनएमबी बैक समेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ।

ती बाहेक अन्य छ वटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । गाउँमा बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित छन्। विगत झै गाउँपालिकाको सेवा लिन स्थानीय सदरमुकाम धाउन बाध्य बन्ने गरेका छन् ।

जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ, नेचा सल्यान गाउँपालिका महाकुलुङ र लिखुपिके गाउँपालिकामा बैंकको शाखा नहुदाँ आर्थिक कारोबारका लागि हैरानी भएको हो।  सोताङ गाउँपालिकामा स्थापना भएको कृषि बिकास बैकको उपशाखा समेत द्धन्द्धकालमा सुरक्षा चुनौती बढेपछि हटाईएको थियो।

कोशीपारीका साविकका ७ गाविसलाई सेवा दिन सक्ने उक्त बैकको उपशाखा शान्तिकाल पश्चात तीन वटा संसदीय दलको चुनाव सकिदा समेत पुन स्थापना गर्न नसक्नुले पनि यस क्षेत्रका नागरिकले थप सास्ती खेप्नु परेको हो ।

सोताङमा रहेको उक्त कृषि बैकको उप–शाखा पुनस्थापना भएपनि महाकुलुङ र सोताङ गाउँपालिकाका नागरिकलाई सहज हुनेछ ।