फेरि गर्यो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल परीक्षण

फेरि गर्यो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल परीक्षण

अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्धका बावजुद उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षणपछि अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।

६ वटा परमाणु परीक्षणपछि उत्तर कोरियाले गएको सेप्टेम्बरमा अन्तिम पटक ब्यालेष्टिक मिसाइल परीक्षण गरेको थियो । अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले यो विश्वकै लागि खतरा भएको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै रक्षा मन्त्री म्याटिसले भने, ‘साँच्चै भन्ने हो भने यो मिसाइल पहिलाको भन्दा निकै उचाईबाट गएको छ, उत्तर कोरियाले जुन ब्यालेष्टिक मिसाइल तयार गरिरहेको छ विश्वकै जुनसुकै ठाउँमा पनि यसको खतरा छ ।’

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार मिसाइल प्योङयाङबाट प्रहार गरिएको थियो । मिसाइल ५० मिनेटसम्म हावामै रहेको र पहिला जस्तो जापानको आकाशमाथिबाट भने नगएको जापानी अधिकारीहरुलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

मिसाइल परीक्षण लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाका समकक्षीसँग कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ।

कुराकानीका क्रममा मिसाइल परीक्षणको दुबै नेताले निन्दा गरेको र यो परीक्षणले अमेरिका मात्रै नभई पुरै विश्वलाई खतरा रहेको औंल्याएका ह्वाइट हाउसले जनाएको छ।

– एजेन्सी ।