दोस्रो चरणका लागि सम्पूर्ण तयारी पूरा

दोस्रो चरणका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौ । निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायतका सबै निर्वाचन सामाग्री जिल्लामा पठाइसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मंसिर १८ गते बेलुकीसम्म सम्बन्धित मतदान केन्द्रमा पुग्नेगरी कर्मचारीहरु परिचालित हुनेछन् । १५ गतेसम्म सम्बन्धित केन्द्रका मतदान अधिकृतहरुले आफ्नो केन्द्रका लागि आवश्यक निर्वाचन सामाग्री जिल्लाबाट बुझिसक्ने आयोगले जनाएको छ ।

दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुनेछ । यसैबीच पहिलो चरणमा चुनाव भएकामध्ये ९ स्थलको मतपेटिका अझै सदरमुकाम ल्याउन सकिएको छैन।

मौसम अनुकुल नभएका कारण हेलिकोप्टर जान नसकेपछि डोल्पाका ९ मतदान स्थलबाट मतपेटिका ल्याउन नसकिएको हो । हेलिकोप्टर तयारी अवस्थामा राखिएको र मौसमले साथ दिए आज मतपेटिका सदरमुकाम ल्याइने आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

Share