सचेतनामूलक कार्यक्रम गरी क्षयरोग दिवस मनाउँदै

सचेतनामूलक कार्यक्रम गरी क्षयरोग दिवस मनाउँदै

काठमाडौ । राष्ट्रिय क्षयरोग दिवस आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । ६४ औं क्षयरोग दिवसका अवसरमा सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गर्न लागेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस वर्षको क्षयरोग दिवसको नारा हामी जो कोही पनि क्षयरोगबाट संक्रमीत हुन सक्दछौं तर सबै मिलेर यस विरुद्ध लड्न सकिनेछ भन्ने तय गरिएको छ।

संसारको एक तिहाई जनसंख्या यो रोगबाट ग्रसित रहेको छ भने हरेक वर्ष क्षयरोगका कारण २० लाख मानिसले ज्यान गुमाउने गरेका छन्।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४४ हजार नयाँ क्षयरोगी थपिन्छन् । नेपालमा झण्डै ७ हजारले हरेक वर्ष क्षयरोगका कारण ज्यान गुमाउँछन्।

नेपालमा अहिले ४ हजार ३ सय २१ डट सेवा केन्द्र मार्फत बिरामीले सेवा लिईरहेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत फोक्सोको र २५ प्रतिशत अन्य अंगको हुने गरेको छ।

नेपालले सन् २०३५ सम्ममा क्षयरोगले मृत्यु हुनेको संख्या ९५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ।

औषधि सेवन नगरेका क्षयरोगीले १० देखि १५ प्रतिशतलाई रोग सार्ने पनि चिकित्सकहरुले बताएका छन् । खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या देखिएमा चिकित्सककोमा जानु पर्ने हुन्छ।