बिस्फोटको खतरा उच्च, अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बिस्फोटको खतरा उच्च, अन्तर्राष्ट्रिय विमानस्थल बन्द

इण्डोनेसियाको बालीमा ज्वालामुखी बिस्फोटको खतरा उच्च भएपछि अन्तर्राष्ट्रिय विमानस्थल आज दोस्रो दिन पनि बन्द गरिएको छ ।

ज्वालामुखी पहाड माउण्ट आगुङबाट धुवाँको मुस्लो निस्किएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलबाट उडान नहुँदा पर्यटकीयस्थल बालीमा पुगेका पर्यटकहरु फसेका छन् ।

धुवाँले विमानको इन्जिनमा असर गर्ने र भिजिबिलिटीमा पनि समस्या आउने भन्दै पाइलटहरुले हिजो पनि विमान उडाएका थिएनन् ।
हिजो भन्दा आज बिस्फोटको खतरा झन् बढेपछि झण्डै एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने अधिकारीहरुले बताएका छन्।

१२ किलोमिटरको दुरीसम्म पहाडमा स–साना बिस्फोटका आवाज सुनिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
पहाडबाट आगोको लप्काहरु निस्केको देखिएको भन्दै अधिकारीहरुले तत्काल बिस्फोट हुन सक्ने आशंका गरेका छन् ।

पछिल्लो पटक सन् १९६३ मा माउण्ट आगुङमा ज्वालामुखी बिस्फोट हुँदा एक हजार मानिसको मृत्यु भएको थियो ।

– एजेन्सी ।