मतपेटिका सदरमुकाम ल्याउने क्रम तिव्र

मतपेटिका सदरमुकाम ल्याउने क्रम तिव्र

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत पहिलो चरणमा हिजो भएको मतदानका मतपेटिका सदरमुकाम ल्याउने क्रम चलिरहेको छ।

नजिकका क्षेत्रबाट मतपेटिका हिजै बेलुकी ल्याइएको र विकट हिमाली तथा उच्च पहाडी क्षेत्रका मतपेटिका आज बिहानैदेखि सदरमुकाम ल्याउने क्रम चलिरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आयोगले हिजोे मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थल मध्ये २ हजार ५७ मतदान स्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको छ ।

सदरमुकाममा ल्याउन बाँकी रहेका मध्ये १ सय १९ मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिएको हो ।

प्रबक्ता ढकालका अनुसार ७ सय ४१ मतदानस्थलका मतपेटिका ल्याउने क्रममा छन् । मौसमले साथ दिएमा आज बेलुकी सम्ममा सबै ठाउँको मतपेटिका सदरमुकाम ल्याइसक्ने नभए भोलिसम्म लाग्ने प्रवक्ता ढकालले बताए ।

मंसिर २१ गते दोस्रो चरणको मतदान सकेपछि मात्रै मतगणना गरिने भएकाले पहिलो चरणका सबै मतपेटिका सदरमुकाममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख नियन्त्रण र व्यवस्थापनमा राख्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

यसैबीच गोर्खाको बिकट क्षेत्रबाट निर्वाचनको मतपेटिका ल्याउने काम चलिरहेको छ । सडक सञ्जाल पुगेका ठाउँमा सडक बाट र सडक सञ्जाल नजोडिएका क्षेत्रमा नेपाली सेनाको हेलीकोप्टर मार्फत मत पत्र ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए।

रसुवाको लाङटाङबाट हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम धुञ्चे ल्याइएको छ । लाङटाङबाट आज बिहान साढे ८ बजे मतपेटिका सदरमुकाम ल्याइएको स्रोतले जनाए छ।

यस्तै कालिकोटमा मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ । दुर्गम पलाता, नरहरीनाथ, सान्नी त्रिवेणी र पचाल झरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ ।

हिजो सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट भएको छ । बिहान कुशे गाउँपालिका-१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो ।

विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।