नयाँ औद्योगिक क्षेत्र निर्माणले चार सय घरधुरीको विचल्ली

नयाँ औद्योगिक क्षेत्र निर्माणले चार सय घरधुरीको विचल्ली

काठमाडौ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ कालोपानी र मयुरधाप स्थित वि.सं. २०११ सालदेखि नै चालु रहँदै आएको स्थायी बाटो नै बन्द भएको छ ।

कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगिक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेपछि त्यहाँ वसोबास गर्दै आएका चार सय घरधुरीका जनता आन्दोलनमा उत्रिन बाध्य भएको हो ।

बन्द हुँदा बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारीले आश्वासन दिएका थिए ।

निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको विषयमा कारवाही होस् भनि आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबारमा ज्ञापन पत्र बुझाएको पिडित पक्षले वताए ।

यसरी मर्कामा परेकाहरुको नेतृत्व गर्दै पानी र बाटो सुधार उपभोक्ता समितिका एक समूह माननीय उद्योग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र समेत बुझाइसकेको वताउँछन्।

उक्त ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सही सम्बोधन हुने प्रतिवद्धता व्यक्त गरेको समितिका सदस्य अञ्जन सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटाको साथमा शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायत समितिका सदस्यहरु सहभागी थिए।

सोही कार्यको लागि टासीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफूहरु समेतलाई बाटोको आवश्यकता पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत गम्भिर असर पर्ने वताउँदै बाटो खुलाउँनु पर्नेमा ऐक्यबद्धता जनाएका छन् ।

यदि नयाँ औद्योगिक क्षेत्र निर्माणका कारणले बाटो बन्द हुन पुगेमा त्यस इलाकामा बर्षौदेखि बसोबास गर्दै आएका करिब चार सय घरधुरी स्थानीय जनता विचल्लीमा पर्ने पक्कापक्की भएका छन् ।