बिहानैदेखि मतदाता परिचयपत्र वितरण

बिहानैदेखि मतदाता परिचयपत्र वितरण

काठमाडौ । पहिलो चरणको चुनाव हुने जिल्लामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आज बिहानैदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

सम्बन्धित मतदान केन्द्रमा गएर आफ्नो परिचयपत्र लिनका लागि आयोगले आग्रह गरेको छ । तर यसअघि स्थानीय तह चुनावमा मतदाता परिचयपत्र नलिएका, नयाँ मतदाता र मतदाता नामावलीको स्थान परिवर्तन गरेका मतदाताका लागि मात्र परिचय पत्र वितरण गरिने शर्माले बताए।

स्थानीय तह चुनावमा मतदाता परिचय पत्र लिएका मतदाताले पहिलेकै परिचय पत्रका आधारमा मतदान गर्न पाउनेछन् । आफू उपस्थित हुन नसक्नेले परिवारका सदस्य मार्फत मतदाता परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ ।

यसैबीच मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताका लागि मतदानबाट बञ्चित नगरिने निर्वाचन आयोगले जनाएको छ।

मतदाता परिचयपत्र नभएका मतदाताका लागि नागरिकता लगायतका परिचय पत्रका आधारमा मतदान गर्न पाउने विषयमा भोलिसम्ममा आयोगले निर्णय गर्ने शर्माले जानकारी दिए।