मौन अवधिको पूर्ण पालना गर्न सबैलाई आयोगको आग्रह

मौन अवधिको पूर्ण पालना गर्न सबैलाई आयोगको आग्रह

काठमाडौ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा गएराति १२ बजेदेखि मौन अवधि सुरु भएकाले प्रचार प्रसार र मत माग्न नपाइने आयोगले जनाएको छ ।

बाँकी ४५ जिल्लामा चुनावी प्रचार प्रसार चलिरहेको र प्रचारका लागि सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण मौन अवधिको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण बनेको छ।

तर केन्द्रमा निर्वाचन आयुक्तको संयोजकत्वमा गठित आचार संहिता अनुगमन समिति तथा क्षेत्र र जिल्ला तहमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको संयन्त्रले पनि मौन अवधिको अनुगमन गर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

त्यस वाहेक आयोगले राजपत्राङ्कित प्रथम र विशिष्ठ श्रेणीका कर्मचारीलाई पनि अनुगमनका लागि खटाइएको ढकाले जानकारी दिए ।
मौन अवधि उल्लंघन गरेको पाइए ध्यानाकर्षण गराउने, सच्याउन लगाउने, जरिवाना गर्ने र उम्मेदवार भए उम्मेदवारी खारेजसम्म गर्न सकिने प्रावधान रहेको आयोगले जनाएको छ।

पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा समेत भोट माग्ने आशयका सूचना सामाग्री पुग्ने भएकाले राष्ट्रिय प्रशारण माध्यमलाई दुबै चरणको चुनावमा मौन अवधि लागू हुने प्रवक्ता ढकालले बताए ।

सामाजिक सञ्जालको पहुँच ब्यापक भएकाले त्यसमा समेत प्रचार सामाग्री पोष्ट गर्न र भोट माग्न नपाइने आयोगले जनाएको छ ।