भुइँ मान्छेहरु (एउटा प्रतिनिधि कविता )

भुइँ मान्छेहरु (एउटा प्रतिनिधि कविता )

न कसैको डर
न कसैको त्रास
न साझको पीर, न त बिहानको नै
त्यसैले त
अघाएकाहरु
निस्फिक्री डकार्दैछन
र हुन्कार गर्दैछन
उसको सन्तुष्टिमा
भोकाहरुले भजन गाउनु पर्छ
रित्तो थालमा हात बजार्दै
खैजडीको ताल निकाल्नु पर्छ
खाली कसौंडीमा पनियो ठोक्दै
मुजुराको आवाज मिसाउनु पर्छ
भोकले कोक्याएको बेला
पापी पेटमा दुई हातले हिर्काउदै
मादलको घिन्ताङ ताङ घिन्ताङ निकाल्नु पर्छ
र सम्मानमा जुट्नु पर्छ ।
त्यसैले,
भोको पेटमा पटुका कसी
तल्लाघरे रामे दाइकी
आङ खस्ने समस्याले ग्रसित,
सुत्केरी बस्न आएकी छोरी
डकार्नेहरुको जय जयकार गर्दै
छम-छम छम-छम नाच्छे
घरी उठेर त घरी बसेर
सुइइय सुस्केरा हाल्दै
भोलि बिहानै अगेनामा
धुवाँ पुत्ताउँछ भन्ने आशमा ।

फेरि एक हुल मान्छेहरु
दशैमा जस्तै चिल्लर साटेर
दुई चार जना घुस्तिघ्रेको साथमा
गाउँ छिर्दै
आश्वासनका पोकाहरु,
विकासका कागजी योजनाहरु
राहतका ब्रीफकेसहरु
एक साथ फुकाउँछन
पीडाले भरिएको कृतिम स्वर निकाल्दै
हामीले नक्साङ्कन गरि सक्यौ नि!
स्वर्गको एउटा टुक्रा, बन्दै छ गाउँ अब
एउटा एउटा किताब थमाइ दिन्छन
घोषणा पत्र नामको
र साथमा केही चिल्लरहरु…।
फुरुङ्ग पर्दै तल्ला घरे रामे
साँझको जोहो गर्न हतारिन्छ
अघाएकाहरुको सम्मानको खाँतिर
सुत्केरी छोरीलाई खुवाउन भन्दै पालेको
रातो भालेलाई निकाल्दै
खोर रित्याउँछ ।
आङ खस्ने समस्याले ग्रसित
रामेकी सुत्केरी छोरी
अघाएकाहरुको सम्मानमा
हिजो जस्तै..आज पनि
कहिले बसेर त कहिले उठेर
छम-छम नाच्न तयार हुन्छे
भोलि बिहानै अगेनामा
धुवाँ पुत्ताउँछ भन्ने आशमा ।

चुनाव सकिन्छ
अघाएकाहरुले फेरि जित्छन
रामेकी सुत्केरी छोरी
अघाएकालाई जिताउन सफल हुन्छे ।
तर बिजयी जुलुसमा अनुपस्थित ऊ
आङ खस्ने समस्याको कारण
मृत्युसँग हार्न पुग्छे र
सदाका लागि वीदा लिन्छे ।
गाउँ भरी विजयको प्रभातफेरी लगाइन्छ
कहिले बुईमा त कहिले काँधमा बोकिदै
माला र अविरले पुरिएको
गाउँको अघाएको प्रतिनिधि
भोकाहरुको देवता जस्तै देखिन्छ।
तँछाड-मछाड गर्दै
फुटेका कुर्कुचाहरु
फुत्किएका पटुकीहरु
च्यातिएका टोपीहरु
देशका निम्ति
काख रित्याएकाहरु
सिन्दुर पुछिएकाहरु
टुहुरा भएकाहरु
समग्रमा,
सारा भुइँ मान्छेहरु
रामेको नेतृत्वमा
यो जित कस्को…?
भन्दै नारा लगाउँछन्
जिन्दाबाद र मुर्दाबाद्को नाराले
गाउँ एकै छिन भए पनि रङ्गिन देखिन्छ ।
जुलुस लगातार अगाडि बढ्छ ।
अफसोच !
यतिका धेरै भुइँ मान्छेहरुको भिड्मा
तल्लाघरे रामे कतै देखिदैन
उसको आवाज कतै सुनिदैन
भुइँ मान्छेहरुकै वीचबाट
एका एक हरायो रामे
न रामेलाई कसैले खोज्यो
न रामेलाई कसैले सोध्यो ।
रामे खोई ??

-खेमराज आचार्य
(काठमान्डौ)

(लोकपथबाट साभार )