हर्सोल्लासपूर्ण रुपमा विवाह पञ्चमी पर्व मनाउँदै

हर्सोल्लासपूर्ण रुपमा विवाह पञ्चमी पर्व मनाउँदै

काठमाडौ । धनुषाको जनकपुरधाममा आज भगवान् सीता र रामको विवाह महोत्सव हर्सोल्लासका साथ मनाउँदैछ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ।

त्रेता युगमा आजैका दिन सीता र रामको विवाह भएको सम्झनामा राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाउँदैछन् । यो महोत्सवमा नेपाल, भारत लगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।

एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि आज हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भीड लागेको छ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको र शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ।

महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा अहिले चार दिन मात्र मनाउने गरिन्छ ।