राति १२ बजेदेखि मौन अवधि शुरु

राति १२ बजेदेखि मौन अवधि शुरु

काठमाडौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज रातिदेखि मौन अवधि शुरु हुदैछ । निर्वाचन आयोगका अनुसार मंसिर १० गते चुनाव हुने ३२ जिल्लामा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नभएसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसार गर्न र त्यसमा संलग्न हुन नपाइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्ने तथा एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन ।

दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने निर्वाचनको प्रसार प्रसार जारी रहने आयोगले जनाएको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा आज बेलुकीसम्म कर्मचारी पुग्ने भएका छन् ।

सदरमुकामबाट मतपत्र, मतदाता परिचयपत्र, मतपेटिकालगायतका निर्वाचन सामाग्री लिएर हिँडेका कर्मचारीहरु आज बेलुकीसम्म मतदान केन्द्रमा पुगि सक्नेछन्।

मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारी आज पुगेर मतदान केन्द्रको व्यवस्थापन मिलाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

३२ जिल्लाका ४ हजार ४ सय ६५ मतदान केन्द्रमा ४५ देखि ५० हजारको हाराहारीमा कर्मचारी खटिने प्रवक्ता ढकालले बताए । कर्मचारीले भोलि विहानदेखि थपिएका मतदाताको परिचयपत्र वितरण गरि परिचयपत्र लिन आउनेलाई भोट हाल्ने तरिका सिकाउनेछन् ।

पहिलो चरणको चुनावमा ३१ लाख ९२ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।