बाम सभामा सरकारमाथि आरोपै आरोपको बर्षा

बाम सभामा सरकारमाथि आरोपै आरोपको बर्षा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विदेशीको प्रयोगथलो भईरहेको बताएको छ ।  बुटवलमा भएको बाम गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विदेशी ईशारामा जातजाति, धर्म भाषाका नामका द्वन्द्व मच्याउने काम भईरहेको बताएको हो । सरकारका कारण यस्तो भैरहेको ओलीको आरोप छ।

सम्बोधनको क्रममा धेरैजसो समय सरकार र कांग्रेसको आलोचनामा खर्चिएका अध्यक्ष ओलीले बाम गठबन्धनले अधिनायकवाद ल्याउन खोजेको भनेर कांग्रेसले भ्रम छरेको टिप्पणी गरे। कांग्रेसले उद्योगी व्यवसायीलाई तर्साउँदै हिडिरहेको ओलीले आरोप लगाए ।

अध्यक्ष ओलीले आफूले चीनसँग पारवहन र यातायात सन्धि गरेकाले अब नाकाबन्दी लगाउने दिन सकिएको दाबी पनि गरे । ओलीले चुनावपछि बन्ने बाम सरकारले नाकाबन्दी भोग्न नपर्ने गरी विकास अगाडी बढाउने आश्वासन समेत दिए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अबको चुनावले अहिलेकै पूँजीवादी गणतन्त्रमा रुमल्लिने वा समाजवादी गणतन्त्रमा जाने भन्ने कुराको छिनोफानो गर्ने दाबी गरे।