सीता–राम विवाह महोत्सवमा आजैदेखि भक्तजनको भिड

सीता–राम विवाह महोत्सवमा आजैदेखि भक्तजनको भिड

काठमाडौ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् ।

यो महोत्सवमा नेपाल, भारत लगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भिड लागिसकेको छ ।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाई लगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।

Share