चार सय ५६ मेगावाट जलविद्युत सुरुङको उद्घाटन

चार सय ५६ मेगावाट जलविद्युत सुरुङको उद्घाटन

काठमाडौ । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आज उद्घाटन हुदैछ।

आयोजनाका लागि खनिनु पर्ने आठ दशमलव ४ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएसंगै आज औपचारिक उद्घाटन गरिने भएको हो।

स्वदेशी लगानीमा बन्न लागेको अहिले सम्मकै ठुलो आयोजनाको सुरुङको अहिले केहिबेरमा आयोजना स्थल दोलखामा उद्घाटन हुने आयोजनाका प्रमुख विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रमुख श्रेष्ठका अनुसार १८ दशमलब ५ किलोमिटर सुरुङ रहेको आयोजनाको ८ दशमलब ४ किलोमिटर खनेर सकिएको हो । सुरुङको लाइननिङ लगायतका काम सम्पन्न हुन भने करिब ६ महिना लाग्ने अनुमान गरिएको छ।

आयोजनाको सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनु पर्ने शेयर चुनाव लगत्तै निष्कासन गर्ने तयारी गरेको छ । जसमा दोलखा जिल्लावासीले मात्रै आवेदन दिन पाउनेछन् ।

३५ अर्ब ३० करोड रुपैयाँ लागतमा बन्न लागेको आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी छ ।