तत्काल एनालग प्रविधि बन्द नगर्ने सरकारको निर्णय

तत्काल एनालग प्रविधि बन्द नगर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै एनालग प्रविधिबाट प्रशारणमा रहेका नेपाली टेलिभिजन च्यानल तत्काल बन्द नगर्ने भएको छ।

तत्काल टेलिभिजन बन्द गर्दा निर्वाचन कार्यक्रमलाई असर पर्न सक्नेतर्फ सचेत हुँदै यस्तो निर्णय लिईएको सुचना सञ्चार मन्त्रालयले जनाएको छ।

यसअघि एनालग प्रविधिमा रहेका सम्पूर्ण टेलिभिजन सेवा प्रदायकलाई कात्तिक १५ गतेभित्र डिजिटल प्रविधिमा रुपान्तरण गर्न भनिएको थियो।

अनुगमनपछि सरकारले कात्तिक २९ गतेदेखि एनालगबाटै प्रशारणमा रहेका टेलिभिजनको लाईन काटिदिएको थियो ।
सरकारले केवल टिभि सेवा प्रदायक संघ र महासंघ मार्फत सात दिनभित्र एनालग प्रशारणमा रहेका सेवा प्रदायकलाई निवेदन पेश गर्न भनेको छ।

निवेदन प्राप्त भएपछि चुनावी कार्यक्रमलाई ध्यानमा राखेर बढी मंसिर मसान्तसम्म अल्पकालका लागि अधिकतम ३५ वटा नेपाली च्यानल एनालगबाटै प्रशारण गर्न सक्ने सूचना तथा संञ्चार मन्त्रालयका सहसचिव एवं प्रबक्ता पे्रम कुमार श्रेष्ठले जानकारी दिए।