बुढीगण्डकी जलविद्युत आयोजना सम्झौता खारेज

बुढीगण्डकी जलविद्युत आयोजना सम्झौता खारेज

काठमाडौ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद बैठक चलिरहँदा उपप्रधान एवं उर्जा मन्त्री कमल थापाले ट्वीट गर्दै संसदीय समितिहरुको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको उल्लेख गरेको छ।

थापाले ट्वीटमा भनेको छ- ‘अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रीपरिषद बैठकले खारेज गरेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको काँग्रेस सहितको सरकारका पालामा यो सम्झौता भएको थियो ।

यो आयोजनालाई चीनले नेपालकै आग्रहमा ‘वन बेल्ट वन रोड’ अवधारणा (ओबीओआर) मा समेत राखिसकेको छ भने चिनियाँ कम्पनीले स्थलगत अध्ययन समेत थालिसकेको छ।