मतदान केन्द्रमा खटिने कर्मचारी ३० गतेदेखि नै परिचालित हुने

मतदान केन्द्रमा खटिने कर्मचारी ३० गतेदेखि नै परिचालित हुने

काठमाडौ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतदान केन्द्रमा खटिने कर्मचारी यहि ३० गते नै परिचालित हुने भएका छन्।

पहिलो चरणमा विकट हिमाली जिल्लाहरुमा चुनाव हुने भएकाले कर्मचारीहरु १० दिन अघि नै परिचालन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितका कर्मचारी मतदान हुनु तीन दिन अघि नै सम्बन्धित केन्द्रमा पुगिसक्नु पर्नेछ ।

जिल्ला सदरमुकामबाट मतपत्र, मतदाता परिचयपत्र लगायतका आवश्यक निर्वाचन सामाग्री पनि लिएर जानुपर्ने भएकाले टोली चाँडै परिचालित हुन लागेको हो।

मतपत्र सहितका निर्वाचन सामाग्री सम्बन्धित केन्द्रमा लैजानका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

उम्मेदवारहरु माथि आक्रमणका घटना बढेपछि आयोगले निर्वाचन सामाग्री लुटिन सक्नेतर्फ सचेत रहेको जनाएको छ ।

तीन दिन अघि नै मतदान केन्द्र पुग्ने टोलीले केन्द्रको व्यवस्थापन गर्नुका साथै मतदाता परिचय पत्र वितरण गरी मतदातालाई भोट हाल्ने तरिका पनि सिकाउनेछन्।