राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स जाँदै

राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स जाँदै

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी आज संयुक्त अरब इमिरेट्स युएई जाँदै छ । यूएईका युवराज शेख मोहम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज युएई जान लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारी दिउँसो साढे ३ बजे त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिका प्रमुख स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच भोलि औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् ।

राष्ट्रपति भण्डारीले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेेछ ।

राष्ट्रपति भण्डारीक साथ उनकी छोरी निशा कुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदन कुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र प्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहने छन् ।

राष्ट्रपति भण्डारी आउँदो बिहिवार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।