चुनावपछि पार्टी एकता हुने ओलीको खुलासा

चुनावपछि पार्टी एकता हुने ओलीको खुलासा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच चुनावपछि मात्रै एकता हुने प्रष्ट पारेको छ । दुई पार्टीबीच मंंसिर ९ गते एकता हुने समाचार सार्वजनिक भएपछि ओलीले त्यसको खण्डन गर्दै नौ गते एकता हुने कुनै कार्यक्रम नरहेको बताएको हो।

झापाको गौरादहको कार्यक्रममा बोल्दै ओलीले ९ गते एकता हुने कुरा आफूलाई र प्रचण्डलाई थाहा नभएको बताए । यसअघि घोषणा गरे बमोजिम नै निर्वाचनपछि पार्टी एकता हुने ओलीले प्रष्ट पारे ।

वाम तालमेल बिरोधी शक्तिहरुले योजनाबद्ध रुपमा ९ गते एकता हुने भनेर ‘निराधार हल्ला’ चलाएको ओलीको तर्क छ । ओलीले भ्रामक प्रचार गरेको भन्दै त्यसमा विश्वास नगर्न समेत आग्रह गर्दै भने ‘म झापामा छु, प्रचण्डजी चितवनमा हुनुहुन्छ । हामीहरुबीच मंसिर ९ गते एकता गर्ने बारे कुरा भएको छैन’ ओलीले भने – ‘हामीले असोज १७ गते नै घोषणा गरेका छौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ ।’ नौ गतेको कुरा सुनेर आफूले प्रचण्डलाई फोन गरेको र त्यो सुनेर प्रचण्ड पनि हाँसेको ओलीले बताए ।