साइली-माइली-चौतारी

साइली-माइली-चौतारी

-दुर्गा देवी राई

कुनै समयमा रातमाटेको साइली माइली चौतारी बटुवा, भरीयाहरुको सितल खाने बिसौनी मात्रै थिएन ! हजारौं प्रेम जोडीहरुले आफ्नो माया साटासाट गर्ने प्रेम स्थल थियो।

जहाँ विभिन्न भाषामा हजारौं चरा चुरुङ्गीहरुले आफ्नो बिरहका गीत सुनाउँथे अनि कता कता लाग्थ्यो मलाई पनि आउन सँगै रमाउन भन्दै निम्तो छोडे जस्तो लाग्थ्यो।

कोइलीले साझ पख कोहो कोहो भन्दा साच्चै बोलु बोलु लाग्थ्यो मलाई नै इसारा गरे झैँ लाग्थ्यो त अनि कसै कसैले त पिपलपाको, पिपलपाको भन्दै जङ्गलका सम्पूर्ण मित्रहरूलाई बोलाएको होला ….?  मलाई तेस्तै लाग्थ्यो।

अलि पर रुक्छे बनमा काफल पाक्दा काफलपाको,काफलपाको भन्ने चरीले चौताराको बरको टुप्पोमा बसेर भाषा फेरे जस्तो लाग्थ्यो।

सोरठी भाकामा आफ्नो गला खुलाउदै न्याउली जोडीले प्रेम कहानी सुनाउँदा कता कता म हराउँथे कसै कसैले मलाई मेरै नामले पुकारी रहेजस्तो लाग्थ्यो सायद सायद सायद !!

किताबको ज्ञान म शिक्षकहरुबाट लिन्थे त अनि समय सगै म मायालु ज्ञान् यीनै चरा चुरुङीहरुबाट लिन्थे पिपलको पातमा चुच्चोले कोरिएको 💞 यस्तो चित्र ओइलिएको पातमा चौतारीमा खेल्न जाँदा पाउने गर्थे ।

सुनेको छु हिजोआज त गाउँ विकास भयो अरे !
गाउँमा घर घरमा मोटर बाटो पुग्यो अरे !
भरिया दाईहरु मुग्लान पुग्नु भयो अरे !
मोटर बाटो सर्वे गर्ने इन्जिनियरलाई साइली, माइली चैतारी बचाउन मिल्ने नक्सा निकाल्न गाह्रो भयो अरे !

साइली, माइली चौतारीको वर, पिपल ढाल्नै परो अरे !
चौतारीको निशाना मेटाइयो रे !
हजारौंको माया प्रीति टुटाई रे !
हजारौंको गला सुकाइयो रे !
रुक्छे बनको काफलको बोट पनि डोजरले उखेलियो अरे !

चौतारीमा बस्दा पिपलपाको, पिपलपाको भन्ने अनि जङ्गलमा हुँदा काफलपाको, काफलपाको भन्ने जोडी गाउँ छोडी
अन्तै बसाइँ सरे अरे !
गाउँ छोडी गए अरे !!