भोट माग्ने क्रममा राष्ट्रवादी नाराको होडबाजी

भोट माग्ने क्रममा राष्ट्रवादी नाराको होडबाजी

काठमाडौ । विकास र आर्थिक समृद्धिको नारा दिएर चुनावी घोषणा पत्र सार्वजनिक गरे पनि प्रमुख दलहरुले विपरित जनमतलाई विभाजन गरेर भोट माग्ने कार्यलाई तीब्र पारेका छन् ।

काँग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले–माओेवादीको वामगठबन्धनले आफ्नो पक्षमा जनमत बनाउन लोकतन्त्र र राष्ट्रवादको मुद्दालाई आफ्नो चुनावी भाषण बनाएका छन् ।

काँग्रेसले वामपन्थी गठबन्धनले जिते मुलुकमा अधिनायकवाद स्थापित हुने बताउँदै भोट मागिरहेको छ भने वामगठबन्धनले त्यसमा पनि खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि काँग्रेसले जित्न नहुने बन्दै राष्ट्रवादको नारामा भोट मागेको छ।

दुवैले एक अर्का माथि दोषारोपण गरिरहँदा काँग्रेसले आफू देशको हित विरुद्ध जान नसक्ने बताउँदै आएको छ भने वामगठबन्धनले आफू लोकतान्त्रिक मान्यता भन्दा बाहिर जान नसक्ने प्रष्टिकरण दिँदै आएको छ । तर पनि प्रमुख नेताहरुले यसलाई आफू अनुकूल एजेण्डा बनाएर भोट मागिरहेका छन् ।

काठमाण्डौंमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यो चुनावले नै लोकतन्त्रको भविष्य निर्धारण गर्ने बताए।

कांग्रेस सभापति समेत रहेका देउवाले यो चुनावलाई लोकतन्त्र र कम्युनिष्टहरुको बीचको लडाईका रुपमा चित्रण गरेका छन् । देउवाले मुलुकमा लोकतन्त्र रहने कि नरहने भनेर जनताले फैसला गर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट शासन व्यवस्था लागू भए जनताले निजी सम्पति राख्न समेत नपाउने दाबी गरे।

नेता सिंहले वामपन्थीहरु साम्यवादी शासन ल्याउने उद्घोष गरेर अघि बढिरहेको भन्दै चनाखो हुनुपर्ने बताए ।