बाम गठबन्धन र काग्रेस कार्यकर्ताबीच झडप, २ घाईते,  वाँकीलाई उपचारका लागि काठमाडौ लगियो 

बाम गठबन्धन र काग्रेस कार्यकर्ताबीच झडप, २ घाईते, वाँकीलाई उपचारका लागि काठमाडौ लगियो 

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुको सोताङ्गमा बाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । आज बिहान भएको झडपमा २ जना घाईते भएका छन् ।

झडपमा बाम गठबन्धनका घनश्याम नेपाली र काग्रेसी जिल्ला कोषाअध्यक्ष पेमा तामाङ घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते  नेपालीको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने काग्रेसकी पेमा तामाङलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौ लगिएको छ।

कसरी भयो झडप ?

बाम गठबन्धनको पूर्व निर्धारित कार्यक्रम अन्तरगत आज (शुक्रबार) सोताङ बजारमा चुनावी जनशभा आयोजना गरिएको छ ।
कार्यक्रम तयारीको क्रममा रहेका बाम गठबन्धन र काग्रेसबीच बिहिबारदेखिनै सामान्य विवाद हुदै तनावको स्थिति सृजना भएको स्थानीयबासीन्दाको भनाई छ।

काँग्रेसका कार्यकर्ताले विहिबार राती बाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको बताइएको छ। अन्तिममा काग्रेसका कार्यकर्ताहरु भागेपछि स्थिति सामान्य भएको थियो ।

बाम गठबन्धनका नेता तथा कार्यकर्ता सोताङ बजारमा कार्यक्रमको तयारी गरिरहेको बेला महाकुलुङको बुङ हुदै आएको नेपाली काग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बलबहादुर केसी सहित अन्य नेता कार्यकर्ता सोताङको शिवटार बजार नजिकै भेट भएको थियो ।

भेट भएपछि काग्रेस उम्मेदवार केसीले नै बाम गठबन्धनका कार्यकर्तालाई भिड्न आईज भन्दै ज्याकेट खोलेर चुनौती दिएपछि झडपको अवस्था सृजना भएको प्रत्यक्ष दर्शि सञ्चारकर्मी गोपाल बस्नेतले बताए ।

यस बिषयमा काग्रेस उम्मेदवार केसीसंग बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । अहिले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता जुबुतर्फ अगाडी बढेको छ, भने बाम गठबन्धनले सोताङमा जनसभा गरिरहेको छ ।

अहिले कस्तो छ स्थिति ?

बिहिबार साँझदेखि शुक्रबार बिहानसम्म स्थिति तनाबग्रस्त भएपनि अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय सोताङ्गबाट खटिएको प्रहरीको टोलिले स्थिती नियन्त्रणमा लिई सुरक्षास्थिती मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी जिल्लाबाट प्रहरी निरिक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटना स्थलमा पठाई सकिएको प्रहरी नायव उपरिक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।

प्रत्येक चुनावमा घट्ना घट्ने गरेको छ सोलुखुम्बुमा :

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचन सोलुखुम्बुको गोरा, केरुङ र टाप्टिङको सिमाना पर्ने सिसाखोलामा काग्रेस र तत्कालीन माओवादी कार्यकर्ता बिच झडप भएको थियो ।

उक्त झडपमा एक जना माओवादी कार्यकर्ता गंगाबहादुर भुजेलको ज्यान गएको थियो भने तत्कालिन संविधान सभा सदस्य पदका उम्मेदवार बलबहादुर केसी गम्भीर घाईत भएका थिए । 

यस्तै २०७० मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पनि साविक देउसा गाविसमा एक जना माओवादी कार्यकर्ता रस्मि राईको ज्यान गएको छ भने पुर्व गाविस अध्यक्ष तथा नेपाली काग्रेसका स्थानिय नेता सोमरिञ्जे राई गम्भिर घाईते भएका थिए । 

आज सोताङमा झडप भएसंगै मतदाता त्रसित बनेका छन् ।