केरुङ–काठमाडौं रेलमार्ग अध्ययन चिनियाँ टोली नेपालमा

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन चिनियाँ टोली नेपालमा

काठमाडौ । केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय टोली आज काठमाडौं आउँदैछ । बिहान पौने १० बजे काठमाडौं आइपुग्ने टोलीले केरुङ काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्नेछ ।

रेलमार्गको पूर्वाधार निर्माण गर्ने बिषयमा स्थलगत अध्ययन र दुईपक्षिय बैठक गर्ने टोलीको नेतृत्व चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियानले गर्नेछ।

चिनियाँँ टोली नेपाली प्रतिनिधि सहित भोलि चीनको केरुङ जाने तय भएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

चिनियाँ टोली पर्सी बुधवार पोखरा र बिहिवार लुम्विनी जाने कार्यक्रम तय भएको छ । टोली आज काठमाडौं आए लगत्तै दिउँसो २ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाली अधिकारीहरुसँग छलफल गर्ने प्रवक्ता उपाध्यायले जानकारी दिएको छ ।

पूर्व तयारीका लागि ५ जनाको टोली यस अघिनै नेपाल आएर केरुङ पुगेर काठमाडौं आइसकेको प्रवक्ता उपाध्यायले बताए ।