कांग्रेसलाई डढेको ठुटासँग तुलना गर्दै, आक्रामक रुपमा उत्रिए नेता तामाङ

कांग्रेसलाई डढेको ठुटासँग तुलना गर्दै, आक्रामक रुपमा उत्रिए नेता तामाङ

भाइटीका/नुवाकोट । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले कांग्रेसले नुवाकोटमा जित्ने सम्भावना सकिएको बताएका छन्।
नुवाकोट काठमाडौं सम्पर्क मञ्च (एमाले र माओवादी केन्द्र) को संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन पूर्वमन्त्री तामाङले यसपटक नुवाकोटको प्रतिनिधिसभा र प्रदेशसभाका कुनै पनि क्षेत्रमा कांग्रेसले जित्ने सम्भावना नरहेको बताएका हुन् ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा नुवाकोट क्षेत्र नं १ का उम्मेदवार तामाङले कांग्रेस नेताहरुले नुवाकोटमा यसअघि जिते पनि कुनै विकास निर्माणका काम नगरेको उल्लेख गरे। कांग्रेसको जनाआधार क्षेत्र मानिएको नुवाकोटमा यसपटक आफूले जित्ने दाबी गर्दै तामाङले कांग्रेसले देशभरि पराजय बेहोर्नु पर्ने बताए ।
‘कांग्रेसको राम्रो जनाआधार र राम्रो संगठन भएको भनिएको जिल्लामा जित्दैन भने देशका कुनै जिल्लामा अब उसले जित्दैन’ उनले सम्बोधनका क्रममा भने, ‘मुलुकका जनताको ठूलो संख्या वाम गठबन्धनको पक्षमा छ ।’ आफ्नो जित र वाम गठबन्धनको बहुमत सिद्ध गर्नका लागि वाम गठबन्धनले गल्ती नगर्नेमा विश्वास व्यक्त गर्दै पूर्वमन्त्री तामाङले पार्टी एकता संयोजन समितिले भने जस्तो गरी अगाडि बढ्नु पर्नेमा जोड दिए।
तामाङले गठबन्धनभित्र एकढिक्का हुन सकिएन भने फेरि कांग्रेसले टाउको उठाउने मौका पाउने आशंका व्यक्त गरे । कांग्रेसलाई डढेको काठको ठुटासँग तुलना गर्दै नेता तामाङले भने, ‘कम्युनिस्ट, वाम जनमतलाई सम्मान गर्न सकेनौं, विश्वास गर्न सकेनौं भने डढेको पुरानो ठुटो बल्न पनि सक्ला, तर त्यसो हुन दिनुहुँदैन।’
कार्यक्रमभरि आक्रमक भाषण गरेका पूर्वमन्त्री तामाङले आफ्नो सक्रिय राजनीतिसम्म अब कांग्रेस नुवाकोटमा जित्न नसक्ने ठोकुवा पनि गरे। पूर्व युवा तथा खेलकुद मन्त्री तामाङले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी एक्लै लड्दा महतसँग थोरै मतले पराजित भएका थिए।
त्यतिखेर झिनो मतले हार्नुपरे पनि अहिले वाम गठबन्धनको साथ पाएकोले जित सुनिश्चित भएकोमा उनी ढुक्क देखिन्छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि देशभरि केन्द्रदेखि स्थानीयतहसम्म वाम गठबन्धनको नेतृत्वको सरकार बन्ने बताए ।
स्थानीय तहमा एमाले र माओवादी केन्द्रका अधिकांश नेतृत्व रहेको उल्लेख गर्दै अब केन्द्र र प्रदेश सरकार आफूहरुले बनाउने नेता तामाङको भनाइ छ।
वाम गठबन्धनको बहुमत आउने पक्का रहेको भन्दै तामाङले कोही निरास हुनु पर्ने अवस्था नरहेको बताए । तामाङले वाम गठबन्धनको विकल्प मुलुकमा कुनै शक्ति र पार्टी छैन भने।
काठमाडौंमा विभिन्न पेसा, व्यवसाय गरेर बसिरहेका एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा योजना सहित खट्न उनले निर्देशन पनि दिए।