ट्रम्प एशिया भ्रमणमा

ट्रम्प एशिया भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा निस्केको छ । ११ दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछ ।

अमेरिकी राष्ट्रपतिले एशियाली देशको यति लामो भ्रमण गरेको २५ वर्षपछि पहिलो पटक भएको बीबीसीले उल्लेख गरेको छ ।
परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियासँग तनाव बढेका बेला राष्ट्रपति ट्रम्प एशियाली मूलुकको भ्रमणमा निस्किएको हो।

भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानसँगको मोर्चाबन्दी देखाएर चीनलाई प्योङयाङ विरुद्ध कडा रुपमा प्रस्तुत हुन दबाब दिनसक्ने अनुमान गरिएको छ।

भ्रमणका लागि राष्ट्रपति ट्रम्प अमेरिकाकै हवाई राज्य पुगेको छ । त्यहाँ उनको अमेरिकी प्यासिफक कमाण्डको ब्रिफिङमा सहभागी हुने भएको छ।

हवाईबाट राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलनिया ट्रम्प जापानका लागि प्रस्थान गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्।

भोलि विहान जापान पुग्ने ट्रम्पले जापानी प्रधानमन्त्री सिञ्जो अबेसँग छलफल गर्ने कार्यक्रम रहेको छ भने मंगलबार दक्षिण कोरिया पुग्ने राष्ट्रपति ट्रम्प बुधबार चीन जाने कार्यक्रम छ ।

नोभेम्बर १३ मा फिलिपिन्सको मनिलामा हुने आसियान सम्मेलनमा सहभागी भएर ट्रम्प स्वदेश फर्कने अमेरिकी सञ्चारमाध्यामले जनाएका छन्।