आणविक अस्त्र नबनाउने : राष्ट्रपति मुन जाय

आणविक अस्त्र नबनाउने : राष्ट्रपति मुन जाय

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अस्त्र नबनाउने बताउनुभएको छ । आज दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै मुनले दक्षिण कोरिया आणविक होड्बाजीमा नलाग्ने बताए ।

मुन जायले भने–‘दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्ने छैन र यस्तो अश्त्र पनि बनाउने छैन।’ दक्षिण कोरियाली सरकारको उद्देश्य र सिद्धान्त निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि मुन जायको भनाई छ।

राष्ट्रपति भएपछिको संसदमा दोस्रो सम्बोधन गर्दै मुनले उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न पनि आग्रह समेत गरे। उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको भन्दै दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नु पर्नेमा जोडमा दिए।

उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर भएको मुन जायको तर्क छ।

उत्तर कोरियाले बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएकाले दक्षिण कोरिया, जापान र अमेरिका बढी तनावमा छन् ।

–एजेन्सी