उपत्यकाको चार नारायणमा भव्य मेला

उपत्यकाको चार नारायणमा भव्य मेला

काठमाडौ । आज कार्तिक शुक्ल एकादशी, तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाउँदैछ । आजको दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशंखु नारायणमा विशेष मेला लाग्छ । चार नारायणको दर्शनका लागि विहानैदेखि भक्तजनको भिड लागेको छ । आज बुढानिलकण्ठमा पनि मेला लागेको छ ।