लुम्बिनीको माटो र वुद्धको मूर्ति मेलबर्नस्थित साझा घर सामुदायिक केन्द्रमा

लुम्बिनीको माटो र वुद्धको मूर्ति मेलबर्नस्थित साझा घर सामुदायिक केन्द्रमा

सानु घिमिरे/लुम्बिनी । आफ्नो कला, संस्कृति, रीतिरिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तालाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने कार्य भइरहेको छ ।

यसै अभिप्रायले आगामी डिसेम्बर १८ देखि २४ सम्म वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन हुने सप्ताहब्यापी महापुराण व्यवस्थापन कार्यको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा शुभारम्भ गरेको हो ।

उद्घाटन समारोहका विच ९ बर्षीया प्रवृति गौतमले अनपेक्षित रुपमा सबैलाई आस्चर्य चकित तुल्याउँदै करीब साढे दुई मिनेट पुरै संस्कृतमा कार्यक्रम सफलताको लागि आशिर्वाचन गरेकी थिइन् ।

मेलबर्नमा नेपाली आस्था र पहिचान कायम गर्न पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आवस्यक पर्ने कोष संकलन अभियानको लागि बिशेष सहायक मानिने यस महापुराण कार्यक्रमलाई व्यवस्थित र सफल तुल्याउन क्षेत्रीय संयोजकहरु सहितको ५०१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तैगरी यस परियोजनाको लागि लुम्बिनी (कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट लुम्बिनीको माटो प्रदान गरिने प्रतिबद्धता अनुरुप प्रो. डा. कबिताराम श्रेष्ठले लुम्बिनीको माटो वेलायत लगेको थियो ।

यसै अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ अभियानकै सिलसिलामा युरोप भ्रमणमा जाँदा लुम्बिनीको माटोबाट वेलायत निवासी कृष्ण दर्लामीले गोलाकार बृत्तभित्र वुद्धका दुई पाइतालाको आकार दिएर बनाएको सामाग्री वेलायतबाट ल्याई केन्द्रका अध्यक्ष डा. चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

अभियानका विश्व सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठ, गोर्खापत्रका पूर्व संपादक लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल च्याप्टरका कोषाध्यक्ष धर्म बहादुर शाक्य, अभियानका नेपाल च्याप्टरका सचिब निलेश अधिकारी लगायतका टिम लुम्बिनी भ्रमणको क्रममा लुम्बिनीका भिक्षु टुण्डुकले विश्व शान्तिका प्रतिक वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो अभियानका विश्व सल्लाहकार प्रो. डा. कविताराम श्रेष्ठलाई गत मार्चमा विधिबत् रुपमा हस्तान्तरण गरेको थियो ।

वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटोबाट बनाइएको सो सामग्री मेलबर्नमा निर्माण गरिने साझा घर सामुदायिक केन्द्रको विशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मिएको जानकारी गराउने हेतु सजाएर राखिने व्यवस्था मिलाइएको हो ।

विश्व संयोजक श्रेष्ठका अनुसार यस अभियानले सामुदायिक केन्द्रलाई प्रदान गर्ने निर्णय गरिएको सुनको जलप सहितको तीन फिट अग्लो करीब ५२ केजी तौलको बुद्धको मूर्ति नेपालबाट यथाशीघ्र अस्ट्रेलिया ल्याउन पनि आग्रह गरेको हो ।

गत ३० डिसेम्बर, २०१५ मा अभियानको सातौं बार्षिकी मनाउने क्रममा अभियानका तर्फबाट विश्व संयोजक श्रेष्ठले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्यपुस्तकमा वुद्ध जन्मस्थलको विषयमा भएको गल्ती सच्याउन लेखिएको ६ पेज लामो अनुसन्धनात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा उक्त मूर्ति पनि नेपाल सरकारका तर्फबाट अस्ट्रेलिया पठाउने व्यवस्था गरिदिन आग्रह गर्दै नेपाल सरकारलाई प्रमुख अतिथि मार्फत हस्तान्तरण गरिएको थियो ।

आयोजित समारोहमा दिल माया श्रेष्ठले कार्यक्रम सफलताको कामना गर्दै सप्ताहव्यापी महापुराणमा लाख बत्ति बाल्ने घोषणा समेत गरेकी थिइन् ।