पोल्टामा मतपार्न दलहरुलाई चुनावी चटारो

पोल्टामा मतपार्न दलहरुलाई चुनावी चटारो

भोजराज कार्की/ सोलुखुम्बु । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न सोलुखुम्बुका राजनीतिक दलहरु मतदातालाई मत माग्न सक्रिय भएका छन् ।

दलहरु यतिबेला बैठक, भेटघाट, छलफल जस्ता कार्यक्रमलाई अगाडी बढाएका छन् । नगरपालिका तथा गाउँपालिकाको बाटो, चोक, चिया पसल तथा चौतारामा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ ।

निर्वाचनमा होमिएका नेपाली काँग्रेस, बाम गठबन्धन नेकपा (एमाले) नेकपा माओवादी (केन्द्र), त्यसैगरी राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल लगायत सबैले निर्वाचन प्रचारप्रचार कार्यक्रम तय गरीसकेका छन्। घरदैलो अभियान त छदैछ दलहरुले सामाजिक सन्जाल मार्फत पनि प्रचारप्रसार कार्यक्रमलाई तिव्र बनाएका छन्।

उम्मेद्वारहरुको नाममा फेसबुक जस्ता सामाजिक सन्जालमा अकाउण्ट खोलेर उम्मेदवार जिताऊ अभियान, चुनावी कार्यक्रम, उम्मेद्वारले गरेको भाषण तथा उम्मेद्वारलाई भोट किन भन्ने बारेमा स्टाटस लेख्ने, शेयर गर्ने, सभा तथा सम्मेलनको फोटो राख्ने काम गरीरहेको पाइएको छ । चुनावी चिन्ह्र अंकित तस्वरी राखेर पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक शुभचिन्तकले भोट अपिल गरेका छन् ।

बाम गठबन्धनले गाउँपालिका स्तरिय संयुक्त भेला गरि चुनावी रणनीति बनाईरहेका छन् । बाम गठबन्धनले प्रतिनिधि सभाका लागि चुनावी कार्यक्रम यस अघि नै सार्वजनिक गरिसकेको छ ।

कात्तिक १३ गते खुम्बु पासाङ ल्हमु गाउँपालिकाको लुक्लामा कार्यक्रम गर्ने जनाएको छ । मंसिर ५ गतेसम्म विभिन्न स्थानमा आयोजना हुने कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

यस्तै, दुई ध्रुवमा देखिने नेपाली काग्रेस पनि एकै ठाउँमा जिल्ला जिल्ला कार्यसमितिको बैठक बस्ने तय गरिएको छ । बैठकले चुनावी कार्यक्रम सार्वजनिक गर्ने सभापति बिनोद बस्नेतले जानकारी दिए ।

संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्तिले हिजोदेखी चुनावी सभा गर्दै प्रचार प्रशार सुरु गरीसकेको छ । सोलुखुम्बुमा प्रतिनिधि सभा निर्वाचनका लागि एक र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

यस अघि दोस्रो संविधानसभाको निर्वाचनमा सोलुखुम्बुमा एक निर्वाचन क्षेत्र कायम गरिएको थियो । जिल्लामा कुल मतदाता ६९ हजार ४ सय ११ जना छन्। त्यसमध्ये पुरुष ३५ हजार १ सय ३७ र महिला ३४ हजार २ सय ७४ जना मतदाता छन् ।

प्रदेश सभा क्षेत्र नं १ मा ३७ हजार १ सय ५९ जना मतदाता छन् । प्रदेश सभा क्षेत्र नं २ मा ३२ हजार २ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा १ सय १८ वटा मतदानस्थल र १ सय २५ वटा मतदान केन्द्र कायम गरिएको छ ।

 

Share