स्वतन्त्र राज्य घोषणा गरिएपनि केन्द्रीय सरकारको हस्तक्षेप

स्वतन्त्र राज्य घोषणा गरिएपनि केन्द्रीय सरकारको हस्तक्षेप

क्याटलोनियालाई छुट्टै देश घोषणा गरेपछि स्पेनका प्रधानमन्त्री मारियानो राजोयले त्यहाँको संसद भंग गरेको छ । राजोयले क्याटलोनियाका नेता कार्लोस पुज्मोण्ड र उहाँको मन्त्रीपरिषदलाई पनि बर्खास्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्।

प्रधानमन्त्री राजोयले क्याटलोनियाको शासन सत्ता आफ्नो हातमा लिँदै त्यहाँ फेरि चुनाव गराउने घोषणा गरेको छ । स्पेनको संवैधानिक अदालतले अवैध ठहर गर्दा गर्दै छुट्टै राज्य स्थापनाका लागि जनमत संग्रह भएपछि क्याटलोनियामा तनाव शुरु भएको थियो।

क्याटलोनियामा आगामी डिसेम्बर २१ मा फेरि चुनाव हुनेछ । प्रधानमन्त्री राजोयले आउँदो चुनाव स्वतन्त्र, कानुनी र स्वच्छ तरिकाबाट गराइने बताएको छ । प्रधानमन्त्री राजोयले क्याटलनका प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेको बीबीसीले जनाएको छ।

यसअघि हिजै क्षेत्रीय संसदले स्वतन्त्र राज्य स्थापनाका लागि मञ्जुरी दिएपछि क्याटलोनियालाई स्वतन्त्र देश घोषणा गरिएको थियो। तर केन्द्रीय सरकारले हस्तक्षेप गरेपछि क्याटलोनियाको छुट्टै राज्यको वैद्यता समाप्त भएको छ ।