चिसो बढेसंगै खुम्बुबाट पर्यटक फर्कनथाले, तेन्जिङ हिलारी बिमानस्थलमा यात्रुको चाप बढ्यो

चिसो बढेसंगै खुम्बुबाट पर्यटक फर्कनथाले, तेन्जिङ हिलारी बिमानस्थलमा यात्रुको चाप बढ्यो

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुमा यस बर्ष विगतका बर्षको तुलनामा पर्यटक आगमनको संख्या बढेको छ । पर्यटक प्रहरी लुक्लाको तथ्यांकलाई हेर्दा गत वर्षहरुमा भन्दा यस बर्ष पर्यटक आगमनको संख्या उत्साहजनक रहेको पाइएको छ ।

यस बर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्याङ्क अनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन्।

यस बीचमा भ्रमण सकेर ३ हजार ९७१ जना बाहिरिएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष खुम्बु भित्रने पर्यटकको सख्या झण्डै दोब्बर संख्याले बढेको हो।

गत वर्ष र यस वर्षको भदौ २३ गते देखि असोज २३ गतेसम्मको तथ्याङ्कलाई तुलना गर्दा २ हजार १०० बढी पर्यटक खुम्बु भित्रिएका छन्।

यस वर्षको भदौ २३ गतेदेखि असोज २३ गतेसम्म ७ हजार ४८४ जना बाह्य पर्यटक खुम्बु भ्रमणका लागि भित्रिएका थिए भने अघिल्लो वर्ष सोही समयमा ५ हजार ३ सय ८४ पर्यटक खुम्बु भ्रमणका लागि आएको पर्यटक प्रहरी लुक्लाका हवलदार जयप्रकाश गोहितमानले जानकारी दिए।

सोमबार मात्र २ सय ६३ जना भ्रमणमा आएको थिए भने ४ सय ७७ जना बाहिरिएका छन्।

घुम्न आउने पुरुष तथा महिलाको संख्या तुलना गर्दा पुरुषको संख्या बढिरहेको छ।

चिसो बढ्दै गएपछि पर्यटकहरु भ्रमण छोट्याएर फर्कने तयारीमा जुटेको टे«किङ गाईड चुडामणी केसीले बताए।

केसीले भने, “ विगत वर्षको तुलनामा यो वर्ष चाडै चिसो शुरु भएको महशुस भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भईरहेको छ।” पर्यटक र उनका सहयोगी काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लुक्ला स्थित तेञ्जिङ हिलारी बिमानस्थल आउने गर्छन्।

अहिले भ्रमण सकेर पर्यटकहरु धमाधम फर्कन थालेपछि लुक्ला आउने भन्दा काठमाडौ जाने यात्रुको चाप बढेको तारा एयर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए।

सबैभन्दा बढि अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापान, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशबाट सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका छन् ।