सी जिनपिङको विचारधारालाई संविधानमा राख्ने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

सी जिनपिङको विचारधारालाई संविधानमा राख्ने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनपिङको विचारधारालाई संविधानमा राख्ने निर्णय गरेको छ । बेईजिङमा भएको पार्टीको १९ औं सम्मेलनले राष्ट्रपति सी ले पेश गरेको नयाँ युगको चिनियाँ बिशेषता सहितको समाजवाद ‘सी जिनपिङ थट’ अर्थात ‘सी जिनपिङ विचारधारा’ लाई संविधानमा राख्ने निर्णय गरेको बिबिसीले जनाएको छ ।

यससँगै राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओत्सेतुङ पछिकै शक्तिशाली नेता बनेको छ।

सम्मेलनमा सर्वसम्मतिले सी को विचारधारा संविधानमा समावेश गर्ने निर्णय भएको समाचारमा उल्लेख छ।

चिनियाँ संविधानमा संस्थापक नेता माओत्सेतुङ र देङ सिआओपिङ बाहेक अरु कसैको पनि विचारलाई स्थान दिईएको छैन।

चीनमा आर्थिक सुधार ल्याएको भन्दै देङ सिआओपिङको विचारलाई सम्मान स्वरुप सन् १९८० मा संविधानमा राखिएको थियो। पार्टीको विधानमा समेत संशोधन भएकाले राष्ट्रपति सी लाई थप शक्तिशाली बनाएको छ।

सम्मेलनको पहिलो दिन नै राष्ट्रपति सी ले ३ घण्टाभन्दा लामो भाषण गरी आफ्नो राजनीतिक सिद्धान्त पेश गरेको थियो । राष्ट्रपति सी ले आफ्नो विचारमा देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै अनुशासित बनाउँदै विश्वसामु सशक्त रुपमा प्रस्तुत गर्ने उल्लेख गरेको छ।

सी बिचारधाराले आधुनिक चीनको तेस्रो चरणलाई संकेत गरेको छ । पहिलो चरणमा माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाएको थियो भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई आर्थिक रुपमा समृद्ध बनाएको थियो ।

सन् २०१२ मा राष्ट्रपति बनेका सी लगातार शक्तिशाली बन्दै गएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको महाधिबेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम मानिन्छ।

-एजेन्सी