तामझामकासाथ उम्मेद्वारी दर्ता, चुनावी मैदानमा को को उत्रिए

तामझामकासाथ उम्मेद्वारी दर्ता, चुनावी मैदानमा को को उत्रिए

भोजराज कार्की सोलुखुम्बु । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा सात दलले उम्मेद्वारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार सात राजनीतिक दलले उम्मेद्वारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोलुखुम्बुले जनाएको छ।

दर्ता क्रममा सबैभन्दा पहिला संघिय समाजबादी फोरम नेपाल रहेको थियो। यस्तै नेपाली काग्रेस, राष्ट्रिय जनता पार्टी, बाम गठबन्धन, नेमकिपा, नयाँ शक्ति र मंगोल नेशनल अर्गनाईजेशनले क्रमैसंग उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए।

नेपाली काग्रेसबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकास सिहं कार्की र २ बाट आङगेलु शेर्पाले मनोनयन दर्ता गराएको छ।

यस्तै बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हेमकुमार राई (सुरबीर), प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता उत्तम बस्नेत, क्षेत्र नम्बर २ बाट पूर्व पार्टी अध्यक्ष बुद्धि कुमार राजभण्डारीले उम्मेद्वारी मनोनयन दर्ता गराएको छ।

बाम गठबन्धनको तर्फबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले जिल्ला अध्यक्ष मानबीर राईले उम्मेदावरी दिने बताईएपनि मनोनयन दर्ताको दिन एमालेले उम्मेदवार परिवर्तन गरेसंगै बस्नेतको उम्मेदवारी परेको हो । नेकपा एमालेको बागी उम्मेद्वार स्वरुप लोचन कुमार शर्माले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, संघिय समाजबादी फोरमबाट प्रतिनिधि सभाका लागि लाक्पा शेर्पा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट चोलामाया बस्नेत, क्षेत्र नम्बर २ बाट गंगा मगरले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद सुवेदीले जानकारी दिए।

यस्तै राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभाका लागि रामकाजी राई, नयाँ शक्तिबाट शुनिल खड्का, नेमकिपाबाट दोर्जी शेर्पा, मङ्गोल नेशनलबाट रुद्र बहादुर मगरले उम्मेद्वारी दिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ शक्तिबाट दिपक खड्का मनोनयन दर्ता गराएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ शक्तिबाट मुनेन्द्र बस्नेतले मनोनयन दर्ता गराएको छ ।

मनोनयन दर्ता गराउन विभिन्न दलहरुले नारा जुलुस सहित तामझामकासाथ निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । मनोनयन दर्ता पश्चात सबै उम्मेद्वारले आफ्नो जित शुनिश्चित भएको दावी गरेका छन् ।