चरण अभावका कारण भेडापालन व्यवसाय संकटमा

चरण अभावका कारण भेडापालन व्यवसाय संकटमा

भोजराज कार्की /सल्लेरी सोलुखुम्बु । सोलुखम्बु जिल्लाको अधिकांस हिमाली क्षेत्रमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै विस्तारै तल्लो भेगमा झार्न थालिएको छ ।

यस वर्ष चाडै नै जाडो बढेकाले अधिकाँश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुङ्गाका भेडापालक जीतबहादुर गुरुङले बताए।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा केही राई जातिहरुले पुस्तौँ पुस्ता अघिदेखि यो पेशा अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायलाई जस्तो एक ठाउँमा मात्र सिमित राख्न नहुने भएकाले सिजन अनुसार तराईदेखि हिमालसम्म डुलाउनु पर्ने ब्यवसायीहरु बताउँछन्।

अहिले हिमालमा चिसो शुरु भएकाले मध्यपहाडी भेगका जङ्गलहरुमा अधिकांश भेडागोठहरु झारिँदै गरेको पाइन्छ ।
सोलुखुम्बु मुक्लीका भेडापालक परशुराम गुरुङले भने, चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरी गर्मी सिजन शुरु हुनासाथ क्रमशः फर्काउने बताए। “भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुदैन, तापक्रम अनुसार गोठ सार्नुपर्छ” गुरुङको भनाई थियो।

भेडा पालन पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नु पर्ने हुन्छ,–सोलुखुम्बुको सल्यान–५ का भेडापालक जकसेर राई भन्छन् “परिवार, चाडपर्व केही भन्न पाइन्न।” भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले नै पछिल्लो युवा पुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै सङ्कटमा पर्दै जान थालेको वताए।

मुख्यतः पुर्वी पहाडका गुरुङ जातिहरुको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन्।

एक दशक पहिलासम्म सोलुखुम्बु मुक्लिका करिब १० घरबढी गुरुङले व्यवसायकैरुपमा भेडापल गरेका थिए । सधै भेडीगोठमा भेटिने उनीहरु यतीबेला घरैमा भेटिन्छन्। त्यहाँका गुरुङ समुदायको भेडा काँकु बासा लगाएत क्षेत्रका राई समृुदायले पाल्दै आएका छन्।

चरणका लागि माथिल्लो क्षेत्र खुल्ला हुने भएपनि तल्लो क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहहरुले चरण उपलब्ध नगराउँदा समस्या हुने गरेको व्यवसायीहरु बताउँछन्। “सिजन अनुसार सबै क्षेत्रमा भेडा डुलाउनु पर्ने भएपनि केही सामुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ” मुक्लीका खड्गबहादुर गुरुङगले गुनासो गरे।

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ। हिन्दु धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको ठूलो महत्व रहेको बताइन्छ।

भेडाको ऊनको महत्व बढी भएपनि व्यवसाय नै संकटमा पर्न थालेको प्रति चिन्ता व्यक्त हुन थालेको छ । भेडा पालनका लागि चरण अभाव, व्यवसायप्रति युवापुस्ताको चासो क्रमैसंग घट्नु जस्ता विभिन्न चुनौतीहरु थपिँदै गएका छन् ।