भाइटीका पर्व मनाउँदै

भाइटीका पर्व मनाउँदै

काठमाडौ । यमपञ्चक अन्तरगत तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाउँदैछ।

 

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराजको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायत फूलका माला लगाइदिने गरिन्छ ।

 

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला र सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक परम्परा छ ।